टोकियो – जापानमा सन् २०२५ को धानबालीबाट सङ्कलन गरिएको चामलको थोक बिक्रीमा उच्च गिरावट आएको छ । कृषि मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, मे महिनाको अन्त्यसम्ममा कृषि सहकारी र अन्य समूहहरूले थोक बिक्रेताहरूलाई केवल १३ लाख २० हजार टन चामल मात्र बिक्री गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले कम हो र तुलनात्मक तथ्याङ्क राख्न सुरु गरिएयताकै सबैभन्दा न्यून बिक्री हो ।
परम्परागत वितरण माध्यमबाट हुने बिक्री घट्नुको मुख्य कारण उपभोक्ता र व्यापारीहरू सस्तो सरकारी सञ्चित चामल र आयातित चामलतर्फ आकर्षित हुनु रहेको मन्त्रालयले जनाएको छ । बिक्रीमा आएको मन्दीका कारण निजी क्षेत्रमा चामलको मौज्दात ह्वात्तै बढेको छ । मे महिनाको अन्त्यसम्ममा २२ लाख ३० हजार टन चामल थन्किएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५१ प्रतिशतले बढी हो । यो मौज्दात सन् २०१४ मा रेकर्ड गरिएको ऐतिहासिक उच्च विन्दुको हाराहारीमा पुगेको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।
जापानमा चामलको उपयुक्त मौज्दात १८ लाख देखि २० लाख टनसम्म हुनुपर्ने मानिन्छ । तर, हालको मौज्दातले त्यो सीमालाई निकै पछाडि छाडिदिएको छ । गत वर्ष जापानमा चामलको चरम अभाव र मूल्यवृद्धिका कारण सर्वसाधारण मारमा परेका थिए । त्यसलाई सम्बोधन गर्न सरकारले आफ्नो गोदाममा रहेको ‘बफर स्टक’ (सञ्चित चामल) बजारमा पठाउन सुरु गरेपछि मूल्य बिस्तारै ओरालो लाग्न थालेको हो ।
मन्त्रालयका अनुसार देशभरका करिब १,००० सुपरमार्केटहरूको तथ्याङ्क हेर्दा ५ किलोग्राम चामलको औसत खुद्रा मूल्यमा उल्लेख्य गिरावट देखिएको छ:-
- उच्चतम मूल्य: ४,४१६ येन (डिसेम्बर २०२५ को अन्त्य र जनवरी २०२६ को सुरुतिर)
- हालको मूल्य: ३,५९० येन (जुन २१ मा समाप्त भएको हप्तामा)
थोक बिक्रेताहरूले आफ्नो गोदाममा थुप्रिएको चामल बेच्नका लागि थप छुट दिन सक्ने भएकाले आगामी दिनमा खुद्रा मूल्य अझै घट्न सक्ने प्रक्षेपण गरिएको छ । मन्त्रालयले आगामी जुनको अन्त्यसम्ममा निजी क्षेत्रको मौज्दात २३ लाख ४० हजार टन पुग्ने अनुमान गरेको छ । यसले एकातिर उपभोक्तालाई सस्तो मूल्यमा चामल उपलब्ध गराउन मद्दत पुर्याउने छ भने अर्कोतिर धेरै चामल थुप्रिँदा किसानहरूले पाउने मूल्यमा असर पर्न सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।








