Deneme Bonusu Veren Siteler
बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

टोकियो – अमेरिकी डलरको तुलनामा जापानी मुद्रा ‘येन’ को अवमूल्यन हुने क्रमले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार टोकियो बजारमा येन ३९ वर्षयताकै कमजोर विन्दुमा झर्दै प्रति डलर १६२ को स्तर पार गरेको छ । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ले ब्याजदर बढाउन सक्ने अपेक्षा र महिनाको अन्त्यमा आयातकर्ताहरूले गर्ने डलरको मागका कारण येनमा ठूलो गिरावट देखिएको हो ।

मंगलबार एक समय येन कमजोर भएर १६२.४१ सम्म पुगेको थियो, जुन सन् १९८६ डिसेम्बरपछिकै सबैभन्दा न्यून विन्दु हो । जापानी अर्थमन्त्री सात्सुकी कातायामाले सरकारले बजारको उतारचढावलाई सुक्ष्म रूपमा नियालिरहेको र आवश्यक परेमा ‘जुनसुकै बेला’ हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिए पनि मुद्रा बजारमा त्यसको खासै प्रभाव देखिएन ।

‘गाइतामे डट कम’का वरिष्ठ अनुसन्धानकर्ता ताकुया कान्दाका अनुसार, यदि अमेरिकी फेडले ब्याजदर बढाउँदै लग्यो भने डलरको तुलनामा येनलाई टिक्न निकै कठिन हुने देखिएको छ । सुमितोमो मित्सुई डीएस एसेट म्यानेजमेन्टका मुख्य बजार रणनीतिकार मासाहिरो इचिकावाका अनुसार, येन यतिबेला यस्तो जोखिमपूर्ण तहमा छ जहाँ सरकारले कुनै पनि क्षण डलर बिक्री गरेर बजारमा हस्तक्षेप गर्न सक्छ ।

मुद्रा बजारमा सङ्कट देखिए पनि टोकियो स्टक एक्सचेन्जमा भने उत्साह छाएको छ । प्रमुख सूचकांक ‘निक्केई २२५’ सोमबारको तुलनामा ५९४.२१ अंक (०.८६ प्रतिशत) ले बढेर ७०,०६२.३२ को ऐतिहासिक उचाइमा बन्द भएको छ । यस्तै, ‘टोपिक्स’ सूचक पनि ३,९९४.७६ को विन्दुमा पुगेको छ ।

दक्षिण कोरियाली प्रविधि हस्तीहरू सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले चिप र आर्टिफिसियल इन्टेलिजेन्स) क्षेत्रमा करिब ३० खर्ब डलर लगानी गर्ने घोषणा गरेपछि लगानीकर्ताहरू सेमिकन्डक्टर क्षेत्रका सेयरतर्फ आकर्षित भएका हुन् । साथै, अमेरिका र इरानबीच युद्ध रोक्ने सहमति भएको खबरले मध्यपूर्वको तनाव कम हुँदा विश्व बजारमा सकारात्मक सन्देश गएको छ ।

यद्यपि, कमजोर येनका कारण आयातित वस्तुहरू महँगो हुने र यसले कम्पनीहरूको नाफा घटाउन सक्ने चिन्ताले सेयर बजारमा केही समय दबाब समेत देखिएको थियो ।

येनको गिरावटले जापानमा मुद्रास्फीति (महँगी) बढाउने त्रासका कारण १० वर्षे सरकारी ऋणपत्रको प्रतिफल बढेर २.६८० प्रतिशत पुगेको छ । लगानीकर्ताहरूले महँगी बढ्ने डरले धमाधम ऋणपत्र बिक्री गर्न थालेपछि यसको प्रतिफलमा वृद्धि भएको हो ।

विदेशी मुद्राको यो अनपेक्षित उतारचढावले जापानको आयातमुखी अर्थतन्त्रमा गम्भीर चुनौती थपेको छ, जसलाई थाम्न सरकारले चाल्ने आगामी कदमलाई विश्वभरका लगानीकर्ताहरूले निकै चासोका साथ हेरिरहेका छन् ।

तपाईको प्रतिक्रिया