
टोकियो – आगामी आगामी ११ जुन देखि १९ जुलाईसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकपमा समय खेर फाल्ने खेलाडीमाथि रेफ्री कडा रूपमा प्रस्तुत हुने भएका छन् । खेलको गति कायम राख्न र अनावश्यक अवरोध घटाउन फिफाले रेफ्रीलाई विशेष निर्देशन दिएको छ ।
४८ टोली सहभागी हुने विश्वकप सुरु हुन दुई साताभन्दा कम समय बाँकी रहेको बेला फिफाले खेललाई छरितो, निष्पक्ष र रोमान्चक बनाउन केही नियम कार्यान्वयनमा कडाइ गरिने जनाएको छ ।
फिफाका प्रमुख रेफ्री अधिकारी तथा रेफ्री समिति अध्यक्ष पियरलुइजी कोलिनाका अनुसार खेलको लय बिगार्ने गतिविधिहरु सकेसम्म रोक्ने प्रयास गरिने र खेलको गति बारम्बार रोकिने प्रवृत्ति कम गर्नु फिफाको मुख्य उद्देश्य रहेको बताए ।
फिफाका अनुसार खेलाडीले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै मैदान छाडेमा रातो कार्ड देखाउन सकिनेछ । त्यस्तै, विपक्षी खेलाडीसँग विवादास्पद अवस्थामा कुरा गर्दा हात, बाहुला वा जर्सीले मुख छोपेमा पनि कडा कारबाही हुनेछ ।
मैत्रीपूर्ण वा सामान्य कुराकानीका क्रममा मुख छोपिएको अवस्थामा भने कारबाही नहुने फिफाले स्पष्ट पारेको छ । तर आक्रामक वा भिडन्तको अवस्था देखिएमा रेफ्रीले सिधै रातो कार्ड देखाउन सक्नेछन् ।
खेललाई छिटो अघि बढाउन गोलकिक र थ्रो-इनमा पाँच सेकेन्डको काउन्टडाउन प्रयोग गर्न सकिने, गोलकिक तोकिएको समयमा नगरिए विपक्षी टोलीलाई कर्नर दिइनेछ त्यस्तै थ्रो-इनमा ढिलाइ भए बल विपक्षी टोलीलाई दिइनेछ ।
प्रतिस्थापन गरिएका खेलाडीले पनि विशेष अवस्था बाहेक १० सेकेन्डभित्र मैदान छाड्नुपर्नेछ । चोट वा सुरक्षाको अवस्थामा भने यो नियम लागू नहुने जनाइएको छ ।
फिफाले भिडियो सहायक रेफ्री VAR सम्बन्धी व्यवस्था पनि थप स्पष्ट पारेको छ । गलत दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड देखाइएको अवस्थामा, गलत खेलाडीलाई कार्ड दिइएको अवस्थामा वा गलत रूपमा कर्नर दिइएको निर्णयमा VAR प्रयोग गर्न सकिनेछ ।
त्यस्तै, कर्नर वा फ्रिकिक अघि अपोनेन्ट टोलीबाट भएको स्पष्ट फाउलले गोल, पेनाल्टी वा अनुशासनात्मक कारबाहीमा प्रत्यक्ष असर पारेको अवस्थामा पनि VAR मार्फत निर्णय पुनरावलोक गर्न सकिनेछ ।
यद्यपि खेलको गति बढाउने भनिएको भए पनि खेलको समय छोटो हुने सम्भावना भने कम रहेको छ । फिफाका अनुसार प्रत्येक खेलको दुवै हाफको मध्य भागमा तीन मिनेटको पानी पिउने समय दिइनेछ ।
फिफाले नयाँ कडाइले विश्वकपका खेललाई थप व्यवस्थित, छिटो र निष्पक्ष बनाउन सहयोग पुग्ने विश्वास लिएको छ ।








