Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानको सबैभन्दा प्रतिष्ठित उच्च माध्यमिक विद्यालय स्तरीय बेसबल प्रतियोगिता ‘कोशिएन’को १०० वर्षभन्दा लामो इतिहासमा पहिलोपटक महिला अम्पायरहरूले खेल सञ्चालन गर्ने भएका छन् । आगामी अगस्तमा आयोजना हुने राष्ट्रिय च्याम्पियनसिपमा पाँचजना महिला अम्पायरहरू मैदानमा उत्रिएर शताब्दीयौँ देखिको पुरुष एकाधिकार तोड्दै नयाँ इतिहास रच्ने तयारीमा छन् ।

जापान हाई स्कुल बेसबल फेडेरेसनले खेलमा सहभागिताको दायरा फराकिलो बनाउन र पछिल्लो समय देखिएको अम्पायरहरूको अभावलाई सम्बोधन गर्न यो साहसी कदम चालेको हो । यसै महिना ओसाका नजिकैको निसिनोमियास्थित कोशिएन रंगशालामा आयोजित राष्ट्रिय प्रशिक्षण शिविरमा अम्पायरहरूको चर्को आवाज गुन्जिरहेको थियो । त्यहाँ सहभागी साइतामा प्रान्तकी ३९ वर्षीया काना सातो आफ्नो नयाँ भूमिकाका लागि निकै उत्साहित छिन् । ‘म हरेक निर्णय निकै सावधानीपूर्वक लिन चाहन्छु,’ दुई सन्तानकी आमा सातोले भनिन्, ‘मेरो आवाज पुरुषको भन्दा फरक हुन सक्छ, तर म चाहन्छु कि मानिसहरूले महिलाको आवाज पनि मैदानमा उत्तिकै प्रभावकारी हुन्छ भन्ने बुझून् ।’

सातोले एक दशकअघि आफू कार्यरत विद्यालयको जुनियर हाई स्कुल बेसबल क्लबको सुपरभाइजर भएपछि अम्पायरिङ सिक्न सुरु गरेकी थिइन् । उनको अनुभव र कुशलताकै कारण उनले गत वर्ष ‘अण्डर-१८ बेसबल विश्वकप’ मा समेत अम्पायरिङ गर्ने अवसर पाएकी थिइन् ।

कानागावा प्रान्तकी ३३ वर्षीया कासुमी इवाओका लागि कोशिएनको मैदानमा उभिनु एउटा सपना पूरा हुनु जस्तै हो । विद्यार्थी छँदा उनी स्वयं एक उत्कृष्ट बेसबल खेलाडी थिइन् र उनले राष्ट्रिय स्तरको आमन्त्रित प्रतियोगिता समेत जितेकी थिइन् । ‘त्यसबेला केटाहरू मात्र कोशिएनको मैदानमा खेल्न पाउँदा हामीलाई निकै ईर्ष्या लाग्थ्यो,’ पेसाले नर्स रहेकी इवाओले भनिन्, ‘अहिले अम्पायरका रूपमा त्यहाँ पुग्न पाउनु मेरा लागि ठूलो गौरवको कुरा हो। म नयाँ पुस्ताका बालिकाहरूलाई देखाउन चाहन्छु कि महिलाहरू पनि यो खेलको सर्वोच्च तहमा सफल हुन सक्छन् ।’

अन्तर्राष्ट्रिय खेलकुदमा महिलाहरूले निर्णायक भूमिका निर्वाह गर्ने क्रम तीव्र रूपमा बढिरहेको छ। बास्केटबलको एनबीएले तीन दशकअघि नै महिला रेफ्री भित्र्याएको थियो भने सन् २०२२ को फिफा विश्वकपमा जापानी रेफ्री योशिमी यामाशितासहितका महिलाहरूले इतिहास रचेका थिए । गत वर्ष मात्रै अमेरिकी मेजर लिग बेसबलले पनि महिला अम्पायरहरूलाई स्थान दिएको थियो ।

जापान हाई स्कुल बेसबल फेडेरेसनका नियम समिति अध्यक्ष ताइसुके ओजाकीले खेलाडी र अम्पायरको अभावलाई टार्न बढीभन्दा बढी मानिसलाई यस क्षेत्रमा आकर्षित गर्न आवश्यक रहेको बताए । हाल जापानभरका विभिन्न प्रान्तीय फेडेरेसनहरूमा करिब २० जना महिला अम्पायरहरू मात्र सक्रिय रहेका छन् । अगस्तमा हुने यो ऐतिहासिक डेब्युले जापानमा महिलाहरूलाई खेलकुदको प्राविधिक क्षेत्रमा आउन थप उत्प्रेरणा दिने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया