टोकियो – कोमुसुबी वाकाटाकाकेजले ओजेकी किरिसीमालाई टाइब्रेकरमा पराजित गर्दै आफ्नो खेल जीवनको दोस्रो सम्राट कप (एम्परर्स कप)को उपाधि जितेका छन् । आइतबार टोकियोको र्योगोकु कोकुगिकानमा सम्पन्न ग्रीष्मकालीन भव्य सुमो प्रतियोगिताको १५औँ दिन दुवै पहलवानको १२ जित र ३ हारको समान नतिजा भएपछि उपाधिका लागि थप एक खेल खेलाइएको थियो ।
फुकुसिमा प्रान्तका वाकाटाकाकेजले मङ्गोलियाली मूलका ओजेकी किरिसीमाको लगातार दोस्रो उपाधि जित्ने अभियानलाई पूर्णविराम लगाइदिएका हुन् । किरिसीमाले गत मार्चमा मात्रै उपाधि जितेर सुमोको दोस्रो उच्च मर्यादा ‘ओजेकी’ पद पुनः प्राप्त गरेका थिए । प्रतियोगिताको अन्तिम दिन वाकाटाकाकेज र किरिसीमा ११-३ को बराबरी अवस्थाबाट मैदानमा उत्रिएका थिए ।वाकाटाकाकेजले आफ्नो अन्तिम नियमित खेलमा १७औँ वरीयताका माएगासिरा फुजिर्योगालाई हराएर किरिसीमामाथि दबाब बढाएका थिए । लगत्तै किरिसीमाले पनि ११औँ वरीयताका उरालाई पराजित गरेपछि दुवैको १२-३ को स्कोर कायम भयो र विजेता छान्न ‘प्ले-अफ’ आवश्यक भयो ।
निर्णायक भिडन्तको सुरुवाती ठक्करमा दुवै बराबरी देखिए तापनि वाकाटाकाकेजले दोस्रो प्रयासमा किरिसीमालाई बलियो धक्का दिँदै परालको घेरा बाहिर पठाएका थिए । यसअघि सन् २०२२ को मार्चमा ‘सेकिवाके’का रूपमा पहिलो उपाधि जितेका वाकाटाकाकेजका लागि यो जित भावनात्मक रूपमा निकै महत्वपूर्ण छ । घुँडाको गम्भीर चोटका कारण उनी तेस्रो श्रेणीको ‘माकुसिता’ डिभिजनसम्म झरेका थिए। उपाधि जितेपछि उनले भने, ‘म घाइते हुँदा मेरो परिवारले मलाई ठूलो साथ दियो, त्यसैले उनीहरूकै अगाडि यो उपाधि जित्दा म अत्यन्तै खुसी छु । म केवल आफ्नो एकाग्रता कायम राखेर योजना अनुसार खेल्न चाहन्थेँ।’
हारका बाबजुद किरिसीमाको प्रदर्शन उच्च रहेको र उनी आगामी जुलाईमा नागोयामा हुने प्रतियोगितामा सुमोको सर्वोच्च पद ‘योकोजुना’का लागि दाबेदार रहने सम्भावना रहेको जापान सुमो संघका कार्यकारी आशाकायामा (पूर्व ओजेकी कायो) ले बताएका छन् ।








