Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको पहिलो खेलमा नेपालले दुर्भाग्यपूर्ण हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको रोमान्चक भिडन्तमा नेपाल स्कटल्याण्डसँग २ रनको झिनो अन्तरले पराजित भयो ।

वर्षाले प्रभावित भएपछि डकवर्थ लुइस (डीएल) पद्धतिअनुसार ३९ ओभरमा २२१ रनको नयाँ लक्ष्य पाएको नेपालले ७ विकेट गुमाएर २१८ रन मात्र बनाउन सक्यो । अन्तिमसम्म सम्हालिएर खेले पनि नेपाल लक्ष्यभन्दा मात्र ३ रन टाढा रहँदा स्तब्ध बन्यो ।

मध्यक्रम धर्मराएको अवस्थामा गुल्सन झा र उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपालको इनिङ सम्हालेका थिए । सातौँ नम्बरमा ब्याटिङ गर्न आएका गुल्सनले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ६१ रनको योगदान दिए । उनले आफ्नो इनिङमा केही उत्कृष्ट प्रहार गरे पनि टोलीलाई जितको रेखा पार गराउन सकेनन् । उनलाई नन्दन यादवले ८ रनमा साथ दिएका थिए ।

त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ५५ रनको अर्धशतकीय योगदान दिए । उनले कप्तान रोहित पौडेलसँग चौथो विकेटका लागि ७६ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । रोहित ३२ रनमा आउट भए । अन्य ब्याटरहरूमा आसिफ शेखले २१, करण केसीले १८ र विनोद भण्डारीले १० रन जोडे । बलिङतर्फ स्कटल्याण्डका ब्राड्ली करीले ३ र मार्क वाटले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । स्कटल्याण्डको सुरुआत निकै बलियो थियो । ओपनर जर्ज मुन्सले ७५ र फिल्ने म्याकरिथले ३५ रन जोड्दै पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरे ।

एक समय विशाल योगफलतर्फ अग्रसर स्कटल्याण्डलाई सन्दीप लामिछानेले रोकेका थिए । सन्दीपले एकै ओभरमा दुवै ओपनरलाई आउट गर्दै नेपाललाई खेलमा फर्काए । उनले आफ्नो १० ओभरको स्पेलमा ४१ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए । त्यस्तै, करण केसी र नन्दन यादवले समान २–२ विकेट हात पारे ।

स्कटल्याण्डका लागि माइकल इग्लिसले ३४, माइकल लिस्कले २९ र मार्क वाटले २४ रन जोडेका थिए । लिग-२ को यस सिरिजमा नेपालले अब आफ्नो दोस्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया