टोकियो – जापानबाट नेपाल र फिलिपिन्समा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको ‘येहेई रेमिट’ (Yehey Remit) ले टोकियोको प्रमुख व्यापारिक केन्द्र अकिहाबारामा नयाँ कार्यालय सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले ग्राहकहरूको सुविधा र भौतिक पहुँचलाई मध्यनजर गर्दै अकिहाबारामा आफ्नो नयाँ कार्यालयको ‘ग्रान्ड ओपनिङ’ गर्न लागेको हो ।
आगामी शनिबार, ९ मे २०२६ का दिन एक विशेष समारोहका बीच नयाँ कार्यालयको औपचारिक उद्घाटन गरिनेछ । अकिहाबाराको ‘इन्टर एक्ट बिल्डिङ’को तेस्रो तल्लामा बिहान १० बजेदेखि सुरु हुने उक्त समारोहमा रिबन-कटिङ, सांस्कृतिक उत्सव र सहभागी ग्राहकहरूका लागि विशेष ‘ओपनिङ अफर’हरूको समेत व्यवस्था गरिएको छ ।
नेपालको अग्रणी डिजिटल भुक्तानी प्रदायक ‘ईसेवा मनि ट्रान्सफर’ सँगको व्यावसायिक साझेदारीका कारण येहेई रेमिटमार्फत पठाइएको पैसा नेपालमा प्राप्त गर्न निकै सजिलो छ । ग्राहकले नेपालका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंकका शाखा र १ लाखभन्दा बढी ईसेवा क्यास पोइन्टहरूबाट तुरुन्तै रकम निकाल्न वा सिधै ईसेवा वालेटमा प्राप्त गर्न सक्नेछन् ।
जापानको कान्टो लोकल फाइनान्स ब्यूरोबाट इजाजत प्राप्त येहेई रेमिटले हुन्डीजस्ता असुरक्षित र अवैध माध्यमलाई निरुत्साहित गर्दै वैधानिक च्यानलबाट नेपालमा पैसा पठाउन प्रोत्साहन गरिरहेको छ । अकिहाबारामा खुल्न लागेको यो नयाँ कार्यालयले जापानमा रहेका नेपाली समुदायलाई झन् भरपर्दो र पारदर्शी रेमिट्यान्स अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।








