Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – मध्यपूर्वमा जारी इरान द्वन्द्वका कारण इन्धन आपूर्तिमा उत्पन्न हुन सक्ने अनिश्चिततालाई दृष्टिगत गर्दै जापानले आफ्नो राष्ट्रिय सञ्चितिबाट थप कच्चा तेल बजारमा पठाउन सुरु गरेको छ । इन्धनको स्थिर आपूर्ति सुनिश्चित गर्न र बढ्दो बजार मूल्यलाई नियन्त्रणमा राख्न सरकारले यो कदम चालेको हो ।

जापानको उद्योग मन्त्रालयका अनुसार, शुक्रबार इबाराकी प्रान्त र शनिबार कागोसिमा प्रान्तका सञ्चिति केन्द्रहरूबाट तेल निकाल्ने कार्य सुरु गरिएको छ । सरकारले मुलुकका १० वटा प्रमुख रणनीतिक सञ्चिति केन्द्रहरूबाट थप ५८ लाख किलोलिटर कच्चा तेल आपूर्ति गर्ने योजना बनाएको छ । उक्त तेल जापानका चारवटा ठूला थोक बिक्रेता कम्पनीहरूलाई करिब ५४० अर्ब येन (३.४ अर्ब डलर) मा बिक्री गरिनेछ। सो तेललाई प्रशोधन गरी पेट्रोल, डिजेल र अन्य पेट्रोलियम पदार्थका रूपमा बजारमा पठाइनेछ ।

जापानले यसअघि नै मार्चको अन्त्यदेखि ३० दिनका लागि पुग्ने राष्ट्रिय तेल सञ्चिति खुला गरिसकेको छ । अहिलेको नयाँ निर्णयसँगै मे महिनादेखि थप २० दिनको खपत धान्ने गरी इन्धन उपलब्ध हुनेछ । मध्यपूर्वको तनावले इन्धनको अन्तर्राष्ट्रिय बजार अस्थिर बनेपछि जापानले आफ्नो ‘आपत्कालीन कोष’ जस्तै मानिने यो सञ्चितिलाई प्रयोगमा ल्याएको हो ।

उद्योग मन्त्रालयका अधिकारीहरूका अनुसार राष्ट्रिय सञ्चिति खुला गर्दा र वैकल्पिक स्रोतहरूबाट इन्धन सुनिश्चित गर्दा सर्वसाधारणमा रहेको अभावको त्रास कम हुनेछ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इन्धनको स्थिर आपूर्ति सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ र बजारको अवस्था हेरी आवश्यक थप कदमहरू चाल्न तयार छौँ ।’

जापान जस्तो ऊर्जाका लागि पूर्णतः आयातमा निर्भर देशका लागि मध्यपूर्वको युद्ध र ‘हर्मुज जलडमरू’ मा देखिएको अवरोधले ठूलो आर्थिक चुनौती थपेको छ । यो सरकारी कदमले आन्तरिक बजारमा इन्धनको मूल्य स्थिर राख्न सहयोग पुग्ने विज्ञहरूको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया