Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को हाताभित्र रहेको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लिज सम्झौता नवीकरण हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि अन्योलमा रहेको रङ्गशालाको सम्झौता अवधि थप गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रयोग गरिरहेको उक्त जग्गाको म्याद बढाउने जानकारी दिए । त्रिविको करिब ७६ रोपनी जग्गामा फैलिएको यस रङ्गशाला र विश्वविद्यालयबीच भएको २५ वर्षे सम्झौता यही वैशाख मसान्तमा सकिँदै थियो ।

यसअघि त्रिविले जग्गा खोजबिन समितिको प्रतिवेदनलाई आधार मान्दै रङ्गशालासहित १८ वटा सङ्घ–संस्थालाई जग्गा खाली गर्न अल्टिमेटम दिएको थियो । खेलका बेला हुने अत्यधिक भीडभाड र ध्वनिले विश्वविद्यालयको पठनपाठन र प्राज्ञिक वातावरणमा असर पुगेको भन्दै त्रिवि प्रशासनले नवीकरणमा केही असहमति जनाउँदै आएको थियो ।

नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुम्बी लामाले रङ्गशालाको सम्झौता नवीकरण हुनु नेपाली क्रिकेटका लागि सुखद पक्ष रहेको बताए । ‘यो केवल एउटा मैदान मात्र नभई राष्ट्रको गौरव र खेलाडीहरूको भविष्यसँग जोडिएको विषय हो, जहाँ राज्यको ठूलो लगानी छ,’ उनले भने ।

भर्खरै मात्र फ्लड लाइटसहित आधुनिक पूर्वाधार निर्माण गरिएको यस रङ्गशालाको भविष्यलाई लिएर खेलप्रेमीहरूमा देखिएको अन्योल सरकारको यो निर्णयसँगै हटेको छ ।

सम्झौता नवीकरणका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले विगत एक वर्षदेखि त्रिवि पदाधिकारीसँग निरन्तर समन्वय गर्दै आएका थिए । सरकारको यो निर्णयले नेपाली क्रिकेटको विकासमा थप बल पुग्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया