काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) आजदेखि देशभर सुरु भएको छ। सोमबार बिहान ८ बजेदेखि सुरु भएको परीक्षाको पहिलो दिन अंग्रेजी विषयको प्रश्नपत्र सञ्चालन भइरहेको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष करिब ४ लाख १८ हजार ८ सय विद्यार्थी परीक्षामा सहभागी छन्। तीमध्ये नियमिततर्फ ३ लाख ३२ हजारभन्दा बढी र आंशिकतर्फ झण्डै ८६ हजार विद्यार्थी रहेका छन्। देशभर १ हजार ४२१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने परीक्षा वैशाख २७ गतेसम्म चल्नेछ। जापानस्थित एभरेस्ट स्कुलका ३६ जना विद्यार्थीले पनि परीक्षा दिइरहेका छन्।
गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थी संख्या करिब ९२ हजारले घटेको छ। बोर्डका अनुसार नतिजामा सुधार र आंशिक परीक्षार्थी घटेकाले यो संख्या कम देखिएको हो। यस वर्ष परीक्षा सम्पन्न भएको करिब डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको बोर्डले जनाएको छ।








