टोकियो – जापानको उत्तर-पूर्वी प्रान्त इवातेमा पाँचौँ दिन पनि डढेलो नियन्त्रणमा नआएपछि सरकारले ठूलो सङ्ख्यामा सेना र अग्नि नियन्त्रकहरू परिचालन गरेको छ । पहाडी भेगमा लागेको डढेलो आइतबारसम्म आइपुग्दा थप उग्र बन्दै तटीय क्षेत्रको सुन्दर बस्तीतर्फ सोझिएपछि त्रास फैलिएको छ ।
डढेलो निभाउन हालसम्म १,४०० अग्नि नियन्त्रक र १०० जना आत्मरक्षा बलका सुरक्षाकर्मी परिचालन गरिएको छ । आइतबार बिहानसम्मको तथ्याङ्क अनुसार, डढेलोले १,३७३ हेक्टर वन क्षेत्र सखाप पारिसकेको छ, जुन अघिल्लो दिनको तुलनामा ७ प्रतिशतले बढी हो ।
डढेलोले प्रशान्त महासागरको किनारमा अवस्थित ओत्सुची टाउनका आवासीय क्षेत्रहरूलाई प्रत्यक्ष जोखिममा पारेको छ । यो त्यही सहर हो, जसले सन् २०११ को विनाशकारी भूकम्प र सुनामीका क्रममा आफ्नो कुल जनसङ्ख्याको झन्डै १० प्रतिशत हिस्सा गुमाएको थियो । सुनामीको घाउ निको नहुँदै फेरि डढेलोको जोखिम आइलागेपछि स्थानीयहरू त्रसित छन् ।
प्रशासनले हालसम्म ओत्सुचीका १,५४१ परिवार अर्थात् ३,२३३ जना बासिन्दालाई तत्काल घर छाड्न निर्देशन दिएको छ । यो सङ्ख्या ओत्सुचीको कुल जनसङ्ख्याको करिब एक तिहाइ हो । ‘सेनाले हेलिकप्टरमार्फत आकाशबाट आगो निभाउने प्रयास गरिरहेको छ, तर सुक्खा मौसम र तेज हावाका कारण डढेलो झन् फैलिरहेको छ,’ ओत्सुचीका मेयर कोजो हिरानोले पत्रकार सम्मेलनमा भने ।
एक ७४ वर्षीय स्थानीय बासिन्दा योशिनोरी कोमात्सुले डढेलोको विभिषिकाबारे चिन्ता व्यक्त गर्दै भने, ‘आगोले सबै थोक जलाएर खरानी बनाउँछ। सुनामी आउँदा त विनाशपछि पनि केही बाँकी रहन्थ्यो कि भन्ने आशा हुन्थ्यो, तर आगोले केही छाड्दैन ।’
जापानको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार, हालसम्म एकजना व्यक्ति आश्रयस्थलमा लडेर सामान्य घाइते हुनुबाहेक अन्य कुनै मानवीय क्षतिको खबर छैन । मौसम विभागले आइतबार र सोमबार वर्षा हुने सम्भावना नरहेको जनाएको छ। मंगलबार भने हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ, जसले डढेलो नियन्त्रणमा केही राहत पुर्याउन सक्ने अपेक्षा गरिएको छ । डढेलो लाग्नुको वास्तविक कारण अझै खुल्न सकेको छैन र प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।








