टोकियो – जापानमा आयोजना हुन लागेको प्रतिष्ठित ‘कोपा टोरेरोस यू-१२’ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन आएका नेपाली बाल फुटबल खेलाडीहरूको सम्मानमा टोकियोमा ‘स्वागत भोज’ समारोह सम्पन्न भएको छ । एनपीओ ‘नेपाल युथ सकर प्रोजेक्ट’को आयोजनामा नेपाली टोलीको स्वागत तथा हौसला अभिवृद्धिका लागि उक्त कार्यक्रम गरिएको हो ।
नेपालका पूर्वअन्तर्राष्ट्रिय फुटबलर वसन्त गौचनको नेतृत्वमा जापान आइपुगेको नेपाली टोलीलाई यहाँस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा कूटनीतिक व्यक्तित्वहरूले भव्य स्वागत गरे । कार्यक्रममा जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले नेपाली बालबालिकाहरूले अन्तर्राष्ट्रिय मैदानमा खेल्न पाउनु गौरवको विषय भएको बताउँदै यसले नेपालको शिर उँचो बनाउने विश्वास व्यक्त गरेका छन् ।
सो अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका सचिव शिवप्रसाद पौडेल, एनआरएनए जापानका कार्यवाहक अध्यक्ष विश्व रेग्मी, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठ, फनरुट एकेडेमी जापानका निर्देशक वाका ताकाहासी, समाजसेवी बिनोद गौचन, आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष श्री गुरुङ लगायतले खेलाडीहरूलाई सफलताको शुभकामना दिएका थिए ।
नेपाली फुटबलको जग बलियो बनाउने उद्देश्यले पूर्वखेलाडी वसन्त गौचनले सन् २०१६ देखि नेपाली बाल खेलाडीहरूलाई जापान ल्याएर अन्तर्राष्ट्रियस्तरको एक्स्पोजर दिलाउँदै आएका छन् । गौचनको अध्यक्षता र रविन शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा बोल्दै वक्ताहरूले गौचनको यो व्यक्तिगत र संस्थागत प्रयासले भविष्यमा नेपाललाई व्यावसायिक फुटबलर उत्पादनमा ठूलो सहयोग पुग्ने धारणा राखेका थिए ।
तीन दिनसम्म चल्ने यस वर्षको ‘कोपा टोरेरोस’ प्रतियोगितामा नेपालसहित विश्वका ४० भन्दा बढी देशका प्रतिष्ठित क्लबहरूको सहभागिता रहनेछ । प्रतियोगितामा जापान, स्पेन, पोर्चुगल, अष्ट्रेलिया, चीन, दक्षिण कोरिया, ताइवान र जर्मनी लगायतका देशका यू-१२ टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् । विश्वका उदीयमान फुटबल प्रतिभाहरू जमघट हुने यो मञ्चमा नेपाली बालबालिकाले आफ्नो कौशल प्रदर्शन गर्नेछन् ।








