काठमाडौं – अमेरिका र इरानबीच जारी तनावपूर्ण द्वन्द्वका क्रममा करिब १४० अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’ले इरानसँगको युद्धमा आफ्नोतर्फ भएको क्षतिको पहिलो विस्तृत विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
पेन्टागनका प्रवक्ता सीन पार्नेलले इमेलमार्फत जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार, घाइते भएका अधिकांश सैनिकहरूको अवस्था सामान्य छ । घाइतेमध्ये १०८ जना सैनिकहरू आवश्यक उपचारपश्चात् पूर्ण रूपमा निको भई पुनः आफ्नो नियमित काममा फर्किसकेका छन् । यद्यपि, आक्रमणमा परी आठ जना अमेरिकी सैनिक भने गम्भीर घाइते भएका छन् र उनीहरूको हाल उपचार भइरहेको प्रवक्ता पार्नेलले स्पष्ट पारेका छन् ।
दुई देशबीच युद्ध सुरु भएको ११ दिनपछि मात्रै पेन्टागनले अमेरिकी फौजमाथि भएको क्षतिको आधिकारिक तथ्याङ्क बाहिर ल्याएको हो । वासिङ्टन पोस्टलाई उद्धृत गर्दै प्राप्त विवरणअनुसार, इरानले जवाफी कारबाहीको स्वरूपमा रकेट तथा घातक ड्रोनमार्फत आक्रमणहरू गरेको थियो । सोही इरानी आक्रमणमा परी साउदी अरब र कुवेतमा तैनाथ रहेका सात जना अमेरिकी सैनिकले ज्यान गुमाइसकेका छन् ।








