काठमाडौं – मध्यपूर्व र खाडी क्षेत्रमा तनाव बढ्दै गएपछि नेपाल सरकारले त्यहाँ रहेका ठूलो सङ्ख्याका नेपाली नागरिकहरूको सुरक्षा र सम्भावित उद्धारका लागि बहुआयामिक योजना अघि सारेको छ । परराष्ट्रमन्त्री बालानन्द शर्माका अनुसार युद्धको परिस्थिति थप जटिल बनेमा नेपालीहरूलाई समुद्री मार्ग (जलमार्ग) बाट समेत स्वदेश फर्काउने गरी गृहकार्य भइरहेको छ ।
मन्त्री शर्माले हवाई मार्ग अवरुद्ध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ओमानबाट जलमार्ग हुँदै भारत र त्यसपछि नेपालसम्म ल्याउने वैकल्पिक मार्गबारे विचार गरिएको बताए । उनका अनुसार खाडीका विभिन्न मुलुकमा गरी झन्डै २० लाख नेपाली कार्यरत छन् । ती नागरिकको सुरक्षित फिर्तीका लागि परराष्ट्र, गृह, श्रम तथा पर्यटन मन्त्रालयबीच उच्चस्तरीय समन्वय भइरहेको छ ।
नेपालले आफ्ना नागरिकको उद्धारका लागि छिमेकी राष्ट्र भारतसँग पनि प्रारम्भिक छलफल सुरु गरेको छ । दक्षिण एसियाली देशका श्रमिकहरू ठूलो सङ्ख्यामा सो क्षेत्रमा रहेकाले आवश्यक परेमा संयुक्त उद्धार अभियान सञ्चालन गर्न सकिने मन्त्री शर्माले उल्लेख गरे । ‘हामीले भारतसँग पनि प्रारम्भिक संवाद गरेका छौँ । हवाई मार्गको विकल्पमा पानीजहाज पठाउने विषयमा पनि योजना बनाउँदै छौँ,’ उनले भने ।
मन्त्री शर्माका अनुसार हाल ‘स्ट्रेट अफ हर्मुज’ क्षेत्रमा समस्या देखिए पनि हिन्द महासागरको मार्ग खुला रहेकाले मस्कटसम्म पानीजहाजमार्फत श्रमिकहरूलाई ल्याउन प्राविधिक रूपमा सम्भव छ । सरकारले युद्धको अनुगमन गरिरहे पनि अहिले नै ‘तत्कालै उद्धार’ गरिहाल्नुपर्ने परिस्थिति भने नरहेको मन्त्री शर्माको विश्लेषण छ । धेरैजसो नेपाली कामदारहरूले आफूहरू प्रत्यक्ष निशानामा नपरेको र स्थिति छिट्टै सामान्य हुने अपेक्षा गरिरहेकाले तत्काल घर फर्कने मनस्थिति नबनाएको मन्त्रालयले जनाएको छ ।
यद्यपि, इरान र इजरायल-अमेरिकाबीचको बढ्दो सैन्य टकरावका कारण केही देशहरूमा उडान स्थगित भएका छन् । सरकारले नयाँ श्रम स्वीकृति जारी गर्ने कार्यलाई पनि हाललाई रोकेको छ । हालैको इरानी ड्रोन आक्रमणमा परी गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको पुष्टि भएको छ । युएईमा रहेको उनको शव उडानहरू सुचारु हुनासाथ स्वदेश ल्याइने मन्त्रालयले जनाएको छ ।
दूतावासहरूलाई विशेष निर्देशन
परराष्ट्र मन्त्रालयले खाडी तथा मध्यपूर्वका सबै कूटनीतिक नियोगहरूलाई नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको छ । मन्त्रालयले एक ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न र सम्बन्धित देशका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको छ ।
इरानमा रहेका १० नेपालीमध्ये ६ जना सुरक्षित रूपमा बाहिरिइसकेको र बाँकी ४ जना दूतावासको सम्पर्कमा सुरक्षित रहेको जानकारी दिइएको छ । मन्त्री शर्माले भने, ‘हामीले उच्च सतर्कता अपनाएका छौँ र आवश्यक परेमा उच्च तहमा कूटनीतिक संवाद गरेर नेपालीको सुरक्षा सुनिश्चित गर्नेछौँ ।’
अध्यागमन विभागको तथ्याङ्क अनुसार दैनिक २९ सयभन्दा बढी नेपाली रोजगारीका लागि विदेशिने गरेका छन्, जसको ठूलो हिस्सा खाडी मुलुकमै केन्द्रित छ । यस्तो अवस्थामा सरकारले बनाएको ‘कोअर्डिनेसन रेस्क्यु प्लान’ ले त्यहाँ रहेका लाखौँ नेपाली र उनीहरूका परिवारमा केही भरोसा जगाएको छ ।








