Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – इजरायल र लेबनानी विद्रोही समूह हिजबुल्लाहबीचको द्वन्द्वले उग्र रूप लिएसँगै मध्यपूर्वमा क्षेत्रीय महायुद्धको जोखिम बढेको छ । इजरायलको उत्तरी सहर हाइफा नजिकै रहेको सैन्य अखडामा हिजबुल्लाहले शक्तिशाली रकेट र ड्रोन आक्रमण गरेपछि इजरायली वायुसेनाले लेबनानको राजधानी बेरुतमा भीषण बमबारी गरेको छ ।

हिजबुल्लाहले सोमबार बिहानै एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमण इरानका सर्वोच्च नेता अली खामेनीको हत्याको प्रतिशोधमा गरिएको दाबी गरेको छ । अलजजिराका अनुसार हिजबुल्लाहले यस कारबाहीलाई लेबनान र त्यहाँका सर्वसाधारणको रक्षाका लागि गरिएको ‘रक्षात्मक कदम’ भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ , ‘इजरायलको निरन्तरको दमन र हाम्रा नेता तथा जनताको हत्याको उचित जवाफ दिन हामी सक्षम छौँ , यसका लागि उपयुक्त समय र स्थान छनोट गर्ने अधिकार हामीसँग सुरक्षित छ ।’

हिजबुल्लाहको आक्रमण लगत्तै इजरायली लडाकु विमानहरूले दक्षिणी बेरुतमा शृङ्खलाबद्ध हवाई हमला सुरु गरेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार इजरायलले बेरुतका अतिरिक्त दक्षिण लेबनानका विभिन्न गाउँहरूलाई समेत निशाना बनाएको छ । इजरायली सैन्य प्रवक्ताले लेबनानभर हिजबुल्लाहका सैन्य संरचनाहरूमाथि ‘शक्तिशाली प्रहार’ भइरहेको र यो क्रम जारी रहने बताएका छन् ।

इजरायली पक्षले लेबनानमा भइरहेको विनाशको सम्पूर्ण जिम्मेवारी हिजबुल्लाहले नै लिनुपर्ने चेतावनी दिएको छ । इजरायलका अनुसार हिजबुल्लाहले जानाजानी युद्ध निम्त्याएर लेबनानलाई संकटको भुमरीमा धकेलेको छ । उसले हिजबुल्लाहको यो कदमको ‘सशक्त र निर्णायक’ जवाफ दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

यो पछिल्लो सैन्य टकरावले एकातिर अमेरिका र इजरायल तथा अर्कोतिर इरान र उसका सहयोगी राष्ट्रहरूबीच सिधा सैन्य मुठभेड हुने खतरा बढाएको छ । सामरिक विज्ञहरूका अनुसार यो तनावले क्षेत्रीय सुरक्षामा गम्भीर खलल पुऱ्याउनुका साथै मध्यपूर्वलाई अनिश्चितकालीन युद्धतर्फ लैजाने सङ्केत गरेको छ । हाल बेरुतसहित लेबनानका विभिन्न क्षेत्रमा त्रासको वातावरण छाएको छ भने दुवै पक्षबाट आक्रमण र प्रत्याक्रमणको शृङ्खला तीव्र पारिएको छ ।

तपाईको प्रतिक्रिया