काठमाडौं – अमेरिका र इजरायलले इरानका विभिन्न सहरहरूमा भीषण हवाई आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘ठूलो सैन्य कारबाही’को संज्ञा दिँदै इरानी मिसाइल र आणविक क्षमता ध्वस्त पार्नु यसको मुख्य उद्देश्य रहेको बताएका छन् । इजरायलले पनि इरानबाट हुन सक्ने सम्भावित खतरालाई निस्तेज पार्न यो कदम चाल्नुपरेको प्रष्ट पारेको छ ।
यस आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको मृत्यु भएको पुष्टि भएको छ । इरानले आफ्ना सर्वोच्च नेताको मृत्यु भएको स्वीकार गर्दै मुलुकमा ४० दिने शोकको घोषणा गरेको छ । बदलामा इरानी रेभलूशनरी गार्ड कोर (आईआरजीसी) ले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई निसाना बनाउँदै प्रत्याक्रमण सुरु गरेको छ ।
यो घटनाक्रमले विश्व राजनीतिमा ठूलो हलचल पैदा गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सैन्य कारबाहीको निन्दा गर्दै यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई गम्भीर खतरामा पारेको बताएका छन् । उनले तत्काल शत्रुता अन्त्य गरी वार्तामा बस्न आह्वान गरेका छन् ।
रुसले अमेरिकी र इजरेली हमलालाई ‘गैरजिम्मेवार कदम’ भन्दै कडा निन्दा गरेको छ भने इरानका विदेशमन्त्री अब्बास अराग्चीले यी आक्रमणहरू पूर्णतः अवैध र उक्साहटपूर्ण भएको टिप्पणी गरेका छन् । ओमानले पनि सैन्य बलको प्रयोगप्रति निराशा व्यक्त गर्दै अमेरिकालाई थप लडाइँमा नलगाउन आग्रह गरेको छ ।
यता साउदी अरबले इरानले छिमेकी मुलुकहरूमाथि गरेको प्रत्याक्रमणको निन्दा गरेको छ । फ्रान्स, जर्मनी र बेलायतले संयुक्त वक्तव्य जारी गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् । यद्यपि, उनीहरूले इरानलाई आफ्नो आणविक र क्षेप्यास्त्र कार्यक्रम बन्द गर्न विगतदेखि नै दबाब दिँदै आएका थिए ।
अस्ट्रेलियाले भने इरानलाई आणविक अस्त्र प्राप्त गर्नबाट रोक्न अमेरिकाले चालेको कदमको समर्थन गरेको छ । मध्यपूर्वमा चर्किएको यो तनावले विश्वव्यापी अस्थिरता निम्त्याउने भन्दै अन्तर्राष्ट्रिय समुदायमा गहिरो चिन्ता व्यक्त गरिएको छ ।








