Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

टोकियो – नेपाल र जापानबीचको प्रगाढ कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई संगीतको माध्यमबाट जनस्तरसम्म पुर्‍याउने उद्देश्यले विशेष ‘मैत्री गीत’ सार्वजनिक गरिएको छ । विगत ३६ वर्षदेखि जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएका समाजसेवी तथा सर्जक नरेश महर्जनको परिकल्पना र शब्दमा तयार पारिएको यस गीतमा नेपाली चलचित्र क्षेत्रका ‘महानायक’ राजेश हमालको विशेष अभिनय रहेको छ ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसर पारेर सार्वजनिक गरिएको यस म्युजिक भिडियोले दुई देशको संस्कृति, प्रकृति र जनजीवनको सुन्दर पक्षलाई भावनात्मक रूपमा जोडेको छ । लामो समय जापानमा बसेर त्यहाँको विकास, अनुशासन र संस्कृतिलाई नजिकबाट अनुभव गर्नुभएका नरेश महर्जनले आफ्ना भोगाइहरूलाई गीतको शब्दमा उतारेका छन् । गीतले जापानको फुजी हिमाल हेर्दा नेपालको सगरमाथाको झल्को आउने र क्योटोका गल्लीहरूमा हिँड्दा भक्तपुर वा मङ्गल बजारको याद आउने जस्ता मर्मस्पर्शी भावहरू बोकेको छ ।

प्रताप दासको सुमधुर स्वर रहेको यस गीतमा हरिशरण सायमीको संगीत र संगीत संयोजन रहेको छ । भिडियोको छायांकन जापानका विभिन्न रमणीय स्थानहरू र नेपालका ऐतिहासिक सम्पदाहरूमा गरिएको छ । राम कृष्ण खड्गीको निर्देशनमा तयार पारिएको भिडियोमा दुई देशका चाडपर्व, खानपान (जस्तै: योमरी र मोची) र भेषभूषाको समानतालाई कलात्मक ढङ्गले देखाइएको छ ।

 

जापान भ्रमणका क्रममा महानायक राजेश हमालले पनि यस परियोजनामा सहभागी हुन पाउँदा खुसी व्यक्त गरेका छन् । भिडियोमा हमाल र महर्जन दुवैलाई नेपाली र जापानी परम्परागत पहिरनमा देख्न सकिन्छ, जसले ‘वसुधैव कुटुम्बकम्’ को भावनालाई चरितार्थ गरेको छ ।

ओ.एस.आर डिजिटलमार्फत सार्वजनिक गरिएको यो गीतले जापानमा रहेका लाखौँ नेपालीहरू र नेपाललाई माया गर्ने जापानी नागरिकहरूबीच पुलको काम गर्ने अपेक्षा गरिएको छ । सांगीतिक क्षेत्रका जानकारहरूले यसलाई केवल एउटा गीत मात्र नभई दुई देशको मित्रताको ‘सांस्कृतिक दस्ताबेज’ को रूपमा टिप्पणी गरेका छन् । यो गीत हाल युट्युब र विभिन्न सामाजिक सञ्जालमा निकै रुचाइएको छ ।

तपाईको प्रतिक्रिया