समाचार सुन्नुहोस :
काठमाडौँ – ‘इन्डियन आइडल २००७’ का विजेता प्रशान्त तामाङको हृदयघातबाट निधन भएको छ। उनको आइतबार बिहान आफ्नै निवासमा मृत्यु भएको खबर गायक प्रमोद खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।
प्रशान्त तामाङ ‘इन्डियन आइडल २००७’ जित्ने पहिलो नेपाली मूलका भारतीय नागरिक थिए। उनका पिता प्रहरिमा कार्यरत रहँदा सवारी दुर्घटनामा निधन भएपछि प्रशान्तलाई कोलकाता प्रहरीमा जागिर गर्ने अवसर मिलेको थियो। उनको जन्म भारतको दार्जिलिङ जिल्लाको तुङ्सुङ क्षेत्रमा भएको हो। उनका एक बहिनी छन्। उनकी आमा रुपा तामाङको दार्जिलिङको एक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
शान्त स्वभावका प्रशान्तले साथीहरूको आग्रहमा ‘इन्डियन आइडल’ को कोलकाता अडिसनमा भाग लिएका थिए। सोही अडिसनबाट उनको सफल संगीत यात्राको सुरुवात भएको थियो।








