समाचार सुन्नुहोस :
काठमाडौँ – उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएपछि अभिनेत्री तथा होस्ट रिमा विश्वकर्मा र अभिनेता आशिफ साहलाई समानुपातिक उम्मेदवारको सूचीमा राखिएको छ।
रास्वपाले सोमबार राति निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीअनुसार रिमालाई महिला दलित क्लस्टर र आशिफलाई मुस्लिम पुरुष क्लस्टरमा समेटिएको हो। रिमा विश्वकर्मा उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य हुन्। उनी कुलमान घिसिङ नेतृत्वको पार्टीसँग आबद्ध रहँदै आएकी थिइन्।यस्तै, होस्टसमेत रहेका अभिनेता आशिफ साहले ‘२ रुपैयाँ’ र ‘जन्ते बाख्रो’ लगायतका फिल्ममा अभिनय गरेका छन्।
सोमबार राति नै रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङबीच राजनीतिक एकताको सहमति भएको थियो। सहमतिअनुसार उज्यालो नेपाल पार्टीले रास्वपाको केन्द्रीय कमिटीमा वरिष्ठ उपसभापति र महामन्त्री पदसहित ३० प्रतिशत हिस्सा पाउनेछ। वरिष्ठ उपसभापतिमा कुलमान घिसिङ स्वयं जाने तय भए पनि महामन्त्री कसलाई बनाउने भन्ने निर्णय हुन बाँकी छ।








