समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफूलाई थुनाबाट छोड्न जिल्ला अदालत काठमाडौँमा निवेदन दिएका छन्। उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि सुन्धारा कारागारमा छन्। रायमाझीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१(२) अनुसार निवेदन दिएका हुन्। यो दफा अनुसार, थुनामा रहेका अभियुक्तको कसुर प्रमाणित नभए अदालतले उनीहरूलाई छाड्न सक्नेछ।
रायमाझीको निवेदनमाथि जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेको इजलासमा आइतबार सुनुवाइ हुने तय गरिएको छ। भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले २०८० असार १ गते रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उच्च अदालत र सर्वोच्चले पनि यस आदेशलाई पुष्टि गरेका थिए।
यस प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो।








