Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

टोकियो – सन् २०२२ मा जापानको हक्काइडो टापुस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र सिरेटोकोमा २६ जनाको ज्यान जाने गरी भएको डुङ्गा दुर्घटनामा अदालतले सञ्चालक कम्पनीका अध्यक्षलाई दोषी ठहर गरेको छ । कुसिरो जिल्ला अदालतले बुधबार ‘काजु वान’ डुङ्गा सञ्चालक कम्पनीका ६२ वर्षीय अध्यक्ष सेइची कचुरादालाई व्यावसायिक लापरवाही गरेको अभियोगमा ५ वर्षको कैद सजाय सुनाएको हो ।

प्रधानन्यायाधीश ताकेओ मिजुकोसीले फैसला सुनाउँदै कचुरादाले ‘सुरक्षित सञ्चालनमा आउन सक्ने अवरोधको पूर्वानुमान गर्न सक्ने अवस्था हुँदाहुँदै पनि सञ्चालन नरोकेको’ उल्लेख गरे । अदालतका अनुसार भ्रमणको दिन मौसम खराब हुने स्पष्ट पूर्वानुमान थियो, तर त्यसलाई बेवास्ता गरी डुङ्गा चलाउन अनुमति दिँदा यो दुखद घटना हुन पुगेको हो ।

सरकारी वकीलहरूले कचुरादाले तीव्र हावा र उच्च छालको चेतावनीका बाबजुद डुङ्गा चलाउन दिएर आफ्नो जिम्मेवारी र सावधानी अपनाउनुपर्ने दायित्व उल्लंघन गरेको तर्क गरेका थिए ।

१९ टनको ‘काजु वान’ डुङ्गा २३ अप्रिल २०२२ का दिन विश्व प्राकृतिक सम्पदा सूचीमा रहेको सिरेटोको प्रायद्वीपको भ्रमणमा निस्किएको थियो । जापान यातायात सुरक्षा बोर्डको प्रतिवेदनअनुसार, मौसम खराब हुँदै जाँदा डुङ्गा बारम्बार हल्लिएको र अगाडिको भागमा रहेको ढक्कन राम्रोसँग बन्द नभएका कारण समुद्रको पानी इन्जिन कोठाभित्र पसेको थियो। इन्जिन कोठा जलमग्न भएपछि डुङ्गा समुद्रमा डुबेको थियो । घटनाका समयमा अध्यक्ष कचुरादा स्वयं डुङ्गामा भने सवार थिएनन् ।

कचुरादाका प्रतिरक्षा वकीलहरूले भने उनी निर्दोष रहेको दाबी गरेका थिए । उनीहरूका अनुसार कचुरादालाई डुङ्गा डुब्न सक्छ भन्ने कुराको पूर्वानुमान थिएन र उनलाई डुङ्गाको ढोकामा रहेको प्राविधिक खराबीबारे पनि कुनै जानकारी थिएन । अदालतले दोषी ठहर गरेलगत्तै कचुरादाको पक्षले उक्त फैसला चित्तबुझ्दो नभएको भन्दै उच्च अदालतमा पुनरावेदन गरेको छ ।

यस घटनामा डुङ्गामा सवार २४ यात्रु र २ चालक दलका सदस्य गरी सबै २६ जनाको मृत्यु भएको थियो । तीमध्ये ६ जना अझै बेपत्ता छन् । जापानको कोस्ट गार्डले लामो अनुसन्धानपछि कचुरादालाई सन् २०२४ को सेप्टेम्बरमा पक्राउ गरेको थियो र त्यसको एक महिनापछि उनीविरुद्ध औपचारिक अभियोग दर्ता गरिएको थियो ।

तपाईको प्रतिक्रिया