समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफ्नो पार्टीलाई युद्धतर्फ धकेल्न खोजेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कपिलवस्तु र अर्घाखाँचीस्थित पार्टीका श्रम शिविरमा प्रहरीले अपरेशन गरेको भन्दै आपत्ति जनाए।
विप्लवले सरकार निर्वाचनभन्दा युद्ध चाहिरहेको हो कि भन्ने प्रश्न गर्दै ती स्थानमा खटिएका प्रहरी तत्काल फिर्ता बोलाउन माग गरे। यदि प्रहरी नहटाइए र अपरेशनबारे माफी नमागिए सरकारविरुद्ध कडा संघर्षमा उत्रिने चेतावनी पनि दिए।
उनले आफ्नो पार्टी शान्तिपूर्ण ढंगले निर्वाचनमा सहभागी हुन तयार रहेको स्पष्ट पारे। कानुनी प्रक्रिया पूरा गरेर चुनावी प्रतिस्पर्धामा जाने तयारी भइरहेको भन्दै दमनको नीति त्याग्न सरकारलाई आग्रह गरे। महासचिव विप्लवले आगामी निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने घोषणा समेत गरे।








