टोकियो – जापान सरकारले बालबालिकासँग सम्बन्धित क्षेत्रमा काम गर्ने व्यक्तिहरूको पृष्ठभूमि जाँच गर्ने ‘जापानी डीबीएस’ कार्यक्रमका लागि नयाँ प्रमाणीकरण चिह्न (लोगो) बिहीबार सार्वजनिक गरेको छ । बालबालिकाको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले ल्याइएको यो कार्यक्रम अन्तर्गत कामदारहरूको यौन अपराधको इतिहास जाँच गरिनेछ ।
बालबालिका तथा परिवारसम्बन्धी नीति हेर्ने सरकारी निकायले सार्वजनिक गरेको उक्त चिह्नमा ठूला आँखा भएको लाटोकोसेरो र त्यसको माथि ‘कोमामोरो’ लेखिएको छ । एजेन्सीका अनुसार यो नाम जापानी शब्द ‘फुकुरो’ (लाटोकोसेरो) र ‘को वो मामोरो’ (बालबालिकाको रक्षा गरौँ) भन्ने वाक्यांशको सम्मिश्रणबाट जुराइएको हो ।
सन् २०२६ डिसेम्बर २५ देखि कार्यान्वयनमा आउने यो कार्यक्रमअन्तर्गत दुई प्रकारका प्रमाणीकरण चिह्नहरू प्रचलनमा ल्याइनेछ ।
पहिलो चिह्न विद्यालय तथा बाल हेरचाह केन्द्रजस्ता तोकिएका सञ्चालकहरूका लागि हुनेछ, जसलाई कर्मचारीको यौन अपराधको इतिहास जाँच गर्नु र सुरक्षा सुनिश्चित गर्नु अनिवार्य गरिएको छ । निजी व्यवसायहरूका लागि भने अर्को प्रकारको चिह्न प्रयोग गरिनेछ ।
ट्युसन सेन्टर (क्रेम स्कुल) र विद्यालय समयपछिका क्लबहरू (आफ्टर स्कुल केयर) जस्ता निजी सञ्चालकहरूले यस कार्यक्रममा सहभागी हुने वा नहुने भन्ने विषय स्वेच्छिक रहनेछ । सरकारी अधिकारीहरूका अनुसार यी प्रमाणीकरण चिह्नहरू देशभरका विद्यालय, बाल हेरचाह केन्द्र र सम्बन्धित सेवाहरूको पर्चा, वेबसाइट, कार्यालय परिसर र कर्मचारी भर्ना सम्बन्धी विज्ञापनहरूमा प्रयोग गरिनेछ ।
बालबालिका तथा परिवार एजेन्सीका अनुसार यो ‘जापानी डीबीएस’ कार्यक्रम बेलायतको ‘डिस्क्लोजर एन्ड बार्मिङ सर्भिस’ प्रणालीबाट प्रभावित भई सोही नाममा नामाकरण गरिएको हो ।








