Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – सन् २०११ को विनाशकारी भूकम्प र सुनामीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनरुत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले जापानी अभिनेता केन वातानावेले स्थापना गरेको क्याफे बन्द हुने भएको छ । महाविपत्तिको करिब १५ वर्ष पुग्न लाग्दा उक्त क्याफे बन्द हुन लागेको हो ।

मियागी प्रिफेक्चरको केसेननुमामा रहेको ‘के-पोर्ट’ क्याफेका ६६ वर्षीय मालिक समेत रहेका वातानावेले आफ्नो उमेर र बदलिँदो परिस्थितिलाई ध्यानमा राख्दै क्याफे बन्द गर्ने निर्णय गरेका हुन् । उनले भने, ‘म आगामी दशकमा स्थानीय मानिसहरूसँग कसरी रमाइला गतिविधिहरूमा सहभागी हुन सकिन्छ भनेर नयाँ तरिकाहरू खोज्न चाहन्छु ।’

हलिउडको ब्लकबस्टर फिल्म ‘द लास्ट समुराई’ मा आफ्नो भूमिकाका लागि ओस्कारमा मनोनित भएका वातानावेले उत्तरपूर्वी जापानलाई ध्वस्त पार्ने गरी आएको विपत्तिको दुई वर्षपछि, सन् २०१३ को नोभेम्बरमा यो क्याफे सञ्चालनमा ल्याएका थिए । विपत्तिको लगत्तै वातानावेले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्येको एक केसेननुमामा पुगेर स्वयंसेवकका रूपमा काम सुरु गरेका थिए । स्थानीय बासिन्दाहरूले भेला हुने र दुःख सुख साटासाट गर्ने कुनै ठाउँ नभएको गुनासो गरेपछि उनले ‘के-पोर्ट’ खोलेका थिए । आफ्नो व्यस्त कार्यतालिकाका बाबजुद पनि उनी हरेक दुई महिनामा कम्तीमा एकपटक क्याफेमा पुगेर काम गर्ने गर्थे ।

क्याफे बन्द हुनुभन्दा एक दिन अघि शनिबार, वातानावे आफैंले ग्राहकहरूको स्वागत गरेका थिए । मियागीकी ५७ वर्षीया बासिन्दा र क्याफेकी नियमित ग्राहक युमिको चिबाले भनिन्, ‘सुनामीमा आफ्ना आमाबुवा गुमाएपछि मलाई मन शान्त पार्न र आराम गर्न यो ठाउँले ठूलो सहयोग गर्यो । यसले मलाई जीवनमा अघि बढ्ने शक्ति दिएको थियो ।’

सन् २०११ मार्च ११ मा एको ९.० म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीले केसेननुमाका धेरै भवनहरू डुबानमा परेका थिए वा बगाएका थिए । त्यतिबेला बन्दरगाह नजिकै निर्माण गरिएको ‘के-पोर्ट’ आसपास रेस्टुरेन्टहरू विरलै थिए र समुद्री तटीय क्षेत्र अन्धकारमय थियो । वातानावेले क्याफे बन्द भए पनि भवनलाई आफैंसँग राख्ने र यसलाई युवा पुस्तामा हस्तान्तरण गर्ने योजना बनाएका छन् ।

तपाईको प्रतिक्रिया