समाचार सुन्नुहोस :
काठमाडौँ – अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही पनि विकास नभएको भन्ने धारणा गलत भएको बताएका छन्। राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले २०४८ सालपछि निर्वाचित सरकारले अपनाएको आर्थिक नीतिका कारण मुलुकमा ठूलो परिवर्तन आएको स्पष्ट पारे।
उनका अनुसार २०४८ सालमा सुरु गरिएको आर्थिक सुधारले नेपाललाई औसत ७ प्रतिशत आर्थिक वृद्धिदरमा पुर्याएको थियो। यदि ती सुधार निरन्तर अघि बढाइएको भए आज नेपालको अर्थतन्त्र करिब १०० अर्ब डलर पुग्ने उनको भनाइ छ। तर अहिले नेपाल ४५ अर्ब डलर बराबरको अर्थतन्त्रमा सीमित रहेको उनले बताए। डा. वाग्लेले पछिल्ला डेढ दशकदेखि नेपाल राजनीतिक र आर्थिक अनिश्चिततामा फसेको उल्लेख गर्दै यसको असर भदौ २३–२४ का घटनामा पनि प्रष्ट देखिएको बताए। जेनजी आन्दोलनले मुलुक नयाँ मोडतर्फ अघि बढेको टिप्पणी पनि उनले गरे।
उनका अनुसार अहिलेको संक्रमण सफलतापूर्वक व्यवस्थापन गर्न सकियो भने देशले नयाँ आर्थिक–राजनीतिक मार्ग पाउन सक्छ। तर असफल भए प्रतिगमनको जोखिम बढ्ने चेतावनी उनले दिए। यस चुनौतीपूर्ण अवस्थाबाट देशलाई निकास दिन नयाँ पुस्ताका नेता र नयाँ राजनीतिक दलको भूमिका महत्वपूर्ण हुनेमा उनले जोड दिए।
डा. वाग्लेले आगामी निर्वाचनपछि आउने नेतृत्वले आर्थिक विकासका लागि दर्जनौँ कानुनमा सुधार गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।








