Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

टोकियो – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाको चौथो अधिवेशन यहि नोवेम्वर ३० तारिख आइतबारका दिन टोकियोमा हुने भएको छ ।

अधिवेशनले नयाँ नेतृत्वसहितको ताजा कार्यसमिति निर्माण गर्नुका साथै आगामी कार्यकालको कार्ययोजना तय गरिने बताईएको छ । अधिवेशनको तयारीसंगै नयाँ नेतृत्वका लागि दावी गर्दे आकाँक्षीहरुको सक्रियता बढेको चर्चा छ ।

शाखाका अध्यक्ष महेन्द्र न्यौपानेका अनुसार शिनओकुबो स्थित बारकाडे रेष्टुरेन्टमा हुने अधिवेशनको तयारी पूरा भईसकेको छ भने अधिवेशनमा टोकियोबाहिर टाढा टाढाबाट पनि प्रतिष्ठानमा आबद्ध प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतिष्ठान जापान शाखाको आगामी नेतृत्वका लागि हालका प्रथम उपाध्यक्ष खेम पौडेल, द्वितीय उपाध्यक्ष शान्ता जिसी र सचिव समुन्द्रराज पौडेल आकाँक्षी देखिएका छन् ।

नयाँ कार्यसमिति निर्माण प्रक्रियाका लागि सल्लाहकार ऋषिराम कँडेलको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । समितिमा सल्लाहकारद्वय ऋषिराम पौडेल र दिपेश खत्री सदस्य छन् ।

संस्थापक अध्यक्ष युवराज आचार्यको पहिलो कार्यकाल, सूर्य खड्का अध्यक्ष रहेको दोस्रो कार्यकाल र महेन्द्र न्यौपाने अध्यक्ष रहेको यो तेस्रो कार्यकालपछि अब चौथो कार्यकालका लागि नयाँ नेतृत्व कसलाई बनाउँदा उपयुक्त हुन्छ भन्ने बहस सुरु भएको छ ।

जापानका नेपाली संघसंस्थाहरुमा जब जब अधिवेशनको माहौल सुरु हुन्छ तब नीति तथा कार्यक्रमभन्दा नेतृत्वको होडबाजी र लुछाचुँडी अलि बढि नै हुने गरेको पाईन्छ भने अर्कोतिर नेतृत्वका लागि आवश्यकताभन्दा धेरै हतारो गर्ने प्रवृत्ति पनि हाबी भईरहेको देखिन्छ । जसले गर्दा कालान्तरमा नेतृत्वको खडेरी पर्ने स्पष्ट संकेतहरु सतहमा देखिन थालेका छन् ।*** 

तपाईको प्रतिक्रिया