टोकियो – जापानको नेशनल पुलिस एजेन्सीले ग्रीष्मकालीन बिदा सुरु हुनुअघि नै देशभरका माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी विशेष सचेतना अभियान सुरु गर्न निर्देशन दिएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत ‘आकर्षक पारिश्रमिक’ को लोभ देखाएर विद्यार्थीहरूलाई गम्भीर अपराधमा संलग्न गराउने गिरोह सक्रिय भएपछि प्रहरीले यस्तो कदम चालेको हो ।
गत जुन ५ मा एनपीएले सबै प्रान्तीय प्रहरी विभागहरूलाई एक निर्देशिका जारी गर्दै युवाहरूलाई अज्ञात र संगठित आपराधिक सञ्जालको पञ्जाबाट जोगाउन आग्रह गरेको छ । यस्ता समूहहरूले अक्सर सामाजिक सञ्जालमा ‘शंकास्पद र अवैध’ विज्ञापनहरू राखेर विद्यार्थीहरूलाई प्रलोभनमा पार्ने गरेका छन् ।
प्रहरीले एक शैक्षिक सामग्री (पम्प्लेट) पनि सार्वजनिक गरेको छ, जसमा ‘अवैध पार्ट-टाइम’ कामबाट आफ्नो जीवन बर्बाद हुन नदिन जान्नुपर्ने पाँचवटा मुख्य बुँदाहरू उल्लेख गरिएका छन् । यसमा भनिएको छ:-
- मिल्ने साथी वा सिनियरले नै अफर गरे पनि शंकास्पद कामको प्रस्ताव सहजै स्वीकार नगर्नुहोस् ।
- आफ्नो बैंक खाता वा पहिचान पत्र अरूलाई बिक्री नगर्नुहोस्, यसो गरेमा भविष्यमा फेरि कहिल्यै अर्को बैंक खाता खोल्न नमिल्ने हुन सक्छ ।
- छिटो र धेरै पैसा कमाउने विज्ञापनहरूमा नफस्नुहोस् ।
एनपीएले शिक्षा मन्त्रालय र ‘बालबालिका तथा परिवार एजेन्सी’ सँग मिलेर विद्यालयमै प्रहरी अधिकारी पठाउने र सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ । राष्ट्रिय सार्वजनिक सुरक्षा आयोगका अध्यक्ष जिरो आकामाले नियमित पत्रकार सम्मेलनमा बोल्दै भनेका छन्, ‘यदि कोही विद्यार्थी यस्ता अवैध कामको सिलसिलामा फसेका छन् वा उनीहरूलाई आपराधिक समूहले धम्की दिइरहेको छ भने, उनीहरूले तुरुन्तै प्रहरीसँग परामर्श गर्नुपर्छ । प्रहरीले उनीहरूको पूर्ण सुरक्षा गर्नेछ ।’
प्रहरीको तथ्याङ्कअनुसार सन् २०२५ मा अवैध रूपमा रकम असुल गर्ने जस्ता आर्थिक अपराधमा संलग्न भएको आरोपमा १२ हजार १७८ जनालाई कारबाही गरिएको थियो । तीमध्ये १ हजार ३२२ जना (कुल संख्याको १० प्रतिशतभन्दा बढी) २० वर्ष मुनिका युवाहरू थिए । यो तथ्याङ्कले जापानमा किशोरकिशोरीहरू कति सजिलै आपराधिक गिरोहको शिकार भइरहेका छन् ।








