समाचार सुन्नुहोस :
काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ। विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरेका छन् भने चितवनको नेतृत्व कुशल मल्लले गरेका छन्।
विराटनगरले तीन खेलमै लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ। चितवनले दुई खेल खेलेर २ अंक मात्र हासिल गरेको छ। आजको खेलमा विराटनगरका सन्दीप लामिछानेको बलिङ र चितवनका रवि बोपाराको ब्याटिङ मुख्य आकर्षण रहनेछ। बोपाराले यस सिजनका दुवै खेलमा अर्धशतक प्रहार गरेका छन्। सन्दीप २ खेलमा ७ विकेट लिएर प्रतिस्पर्धामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्।
विराटनगरले पोखरालाई ५३ रनले, काठमाडौंलाई ५ विकेटले र जनकपुरलाई ९ रनले हराइसकेको छ। अंक तालिकामा सुदूरपश्चिम र विराटनगर दुवैका ६ अंक छन् तर रनरेटका आधारमा विराटनगर दोस्रो स्थानमा छ। चितवन पाँचौं स्थानमा छ। उसले कर्णालीविरुद्ध पहिलो खेल जितेको थियो भने दोस्रो खेलमा लुम्बिनीसमक्ष ६ विकेटले पराजित भएको थियो।
एनपीएलमा आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन्। हाल सुदूरपश्चिम शीर्ष स्थानमा छ। काठमाडौं तेस्रो, लुम्बिनी चौथो, चितवन पाँचौं र कर्णाली छैटौं स्थानमा छन्। जनकपुर र पोखराले अझै अंक हासिल गर्न सकेका छैनन्।








