टोकियो – अकिरा कुरोसावाका ‘कागेमुशा’ (द स्याडो वारियर) जस्ता फिल्ममा अभिनय गरेका जापानका प्रख्यात अभिनेता तात्सुया नाकादाईको ९२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए ।
टोकियोका स्थायी बासिन्दा नाकादाई सन् १९५२ मा अभिनय विद्यालयमा भर्ना भएका थिए । उनले मसाकी कोबायाशीद्वारा निर्देशित युद्धविरोधी फिल्म ‘निन्गेन नो जोकेन’ (द ह्युमन कन्डिसन) ट्रिलोजीमा मुख्य भूमिका खेलेर ख्याति कमाएका थिए । यस फिल्ममा उनले युद्धकालीन जापानमा शान्तिका लागि संघर्ष गर्ने एक व्यक्तिको चित्रण गरेका थिए ।
सन् १९८० को फिल्म ‘कागेमुशा’ ले त्यसै वर्ष कान्स फिल्म फेस्टिभलमा प्रतिष्ठित पाल्मे डी’ओर पुरस्कार जितेको थियो । यो फिल्म एक चोरको कथा हो जसलाई सामुराई सरदारको भेष धारण गर्न नियुक्त गरिन्छ । नाकादाईले कुरोसावाको सन् १९८५ को ‘रान’ मा पनि अभिनय गरेका थिए, जुन शेक्सपियरको ‘किंग लियर’ मा आधारित थियो ।
नाकादाईले सन् १९७५ मा आफ्नी पत्नी यासुको मियाजाकीसँग मिलेर टोकियोमा युवा कलाकारहरूका लागि मुमेइजुकु विद्यालय स्थापना गरी नयाँ पुस्ताका कलाकारहरूलाई पनि तयार गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
सन् २०१५ मा जापानी सरकारबाट ‘अर्डर अफ कल्चर’ बाट सम्मानित नाकादाईको शनिबार बिहान टोकियोको एक अस्पतालमा निमोनियाका कारण निधन भएको स्रोतले जनाएको छ । शान्तिको प्रतिक र एक असल अभिनयका धनी दामृत्युले जापानी सिनेमामा ठूलो क्षति पुगेको छ ।








