काठमाडौं – आगामी उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ बाट उम्मेदवार घोषणा गरेका डा. लेखजंग थापाले बहुविवाहको आरोपपछि आफ्नी पहिलो श्रीमतीसँगको सम्बन्धविच्छेदको कागजात सार्वजनिक गरेका छन् । केही सञ्चार माध्यममा डा. थापाले बहुविवाह गरेको भन्दै समाचार प्रकाशित भएपछि उनले रुपन्देही जिल्ला अदालतबाट २०७९ माघ १५ गते सम्बन्धविच्छेद भएको आदेश सार्वजनिक गरेका हुन् ।
उनले परिस्थितिजन्य कारणले जीवनमा दुई पटक विवाह गरेको स्वीकार गर्दै आफू कानुनी रूपमा सही रहेको दाबी गरेका छन् । डा. थापाले आफ्नो फेसबुक पोस्टमा भनेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । र त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो ।’
उनले सम्बन्धविच्छेद भए पनि पहिलो श्रीमती र सन्तानसँगको सम्बन्ध सौहार्दपूर्ण रहेको र यसमा कसैको अनुमति लिनु नपर्ने बताएका छन् । उनले सम्बन्धविच्छेदको अर्थ शत्रुतापूर्ण सम्बन्ध हुनु नपर्नेमा जोड दिएका छन् । रास्वपाले डा. थापालाई आइतबार साँझ रुपन्देही-३ को उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेको थियो । यस पटक रास्वपाले प्रारम्भिक निर्वाचन र लिडरसिप एकेडेमी, पोल्टिकल प्रोग्जेमिटी तथा समावेशितालाई आधार बनाएर मिश्रित निर्वाचन प्रणालीमार्फत उम्मेदवार छनोट गरेको थियो ।








