समाचार सुन्नुहोस :
काठमाडौँ – नेपालमा विदेशी पर्यटकको आगमन गत वर्षको तुलनामा यस वर्षको अगस्त महिनामा २२ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार यस वर्ष अगस्तमा ८८ हजार ६८० जना विदेशी पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्ष सोही महिनामा ७२ हजार ७१७ जना आएका थिए। कोभिडअघि सन् २०१९ को अगस्तमा यो संख्या ९४ हजार ७४९ रहेको थियो।
पर्यटक आगमनमा सबैभन्दा बढी ५३ प्रतिशत दक्षिण एशियाबाट आएका छन्। अन्य एशियाली मुलुकबाट १७.८ प्रतिशत, युरोपबाट १२.६ प्रतिशत र अमेरिकाबाट ८.२ प्रतिशत पर्यटक आएका छन्।
अगस्त महिनामा भारतबाट सबैभन्दा धेरै ३५ हजार ५०५ पर्यटक नेपाल आएका छन्। त्यसपछि चीनबाट ७ हजार ५३३, अमेरिकाबाट ६ हजार ६८, श्रीलंकाबाट ५ हजार ९५६ र बंगलादेशबाट ४ हजार २६२ जना आएका छन्।
यस्तै, बेलायतबाट २ हजार ९४७, जापानबाट २ हजार ३९९, अस्ट्रेलियाबाट २ हजार २२३, इटालीबाट एक हजार ७५१ र स्पेनबाट एक हजार ४९१ जना पर्यटक नेपाल आएका छन्।








