समाचार सुन्नुहोस :
काठमाडौँ – अफगानिस्तानमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ६१० पुगेको छ। तालिबानको गृह मन्त्रालयका अनुसार पूर्वी प्रान्त नान्गारहार र कुनारमा गएको भूकम्पमा १ हजार ३०० भन्दा बढी घाइते भएका छन्।
आइतबार राति ११:४७ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको थियो। यसको गहिराइ ८ किलोमिटर थियो। त्यसपछि कम्तीमा तीन पटक परकम्प महसुस गरिएको छ। जसको तीव्रता ४.५ देखि ५.२ सम्म थियो।
समाचार एजेन्सी एएफपीका अनुसार धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको इस्लामाबादसम्म अनुभव गरिएको थियो। सबैभन्दा ठूलो क्षति कुनार प्रान्तमा भएको रिपोर्ट गरिएको छ। जसको करिब ९० प्रतिशत भूभाग पहाडी छ।
भूकम्प प्रभावित क्षेत्रमा पुग्ने सडक साँघुरा छन् र धेरै ठाउँमा पहिरोका कारण बन्द भएका छन्। तालिबान अधिकारीहरूले राहतका लागि हेलिकोप्टरको आवश्यकता परेको र अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागिएको जनाएका छन्।








