समाचार सुन्नुहोस :
काठमाडौँ – सात वर्षपछि चीन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। दुवै नेताबीच करिब ५० मिनेट लामो कुराकानी भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले सीमामा सेना फिर्ता भएपछि शान्ति र स्थिरताको वातावरण बनेको बताए। उनले कैलाश मानसरोवर यात्रा र दुई देशबीचको सिधा उडान पुनः सुरु भएकोमा खुशी व्यक्त गर्दै, भारत–चीन सहकार्यले २.८ अर्ब जनतालाई फाइदा पुर्याउने र मानवताकै हितमा योगदान गर्ने उल्लेख गरे।
भेटपछि राष्ट्रपति सीले मोदीलाई भेट्न पाउँदा खुसी लागेको बताए। उनले भारत र चीनबीचको सहकार्य महत्त्वपूर्ण भएको र दुवैले आपसी विश्वास र सम्मानका आधारमा सम्बन्ध अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
जापानको दुई दिने भ्रमण सकेर मोदी शनिबार साँझ चीन पुगेका थिए। सन् २०२० मा गलवानमा भएको झडपपछि बिग्रिएको सम्बन्ध सुधार गर्ने प्रयास यो भ्रमणको मुख्य उद्देश्य हो।
मोदी आज तियानजिनमा हुने शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुनेछन्। चीनमा इतिहासकै सबैभन्दा ठूलो मानिएको यस सम्मेलनमा २० भन्दा बढी देशका नेताहरू सहभागी हुँदैछन्। सोमबार मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।








