काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले दलित समुदायको अधिकार सुनिश्चित गर्नका लागि सडक आन्दोलनको विकल्प नरहेको भन्दै सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई एकजुट भई आन्दोलनमा उत्रिन आह्वान गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दहालले अब ‘एक पटक फेरि जेल, नेल र यातना’ खान तयार हुनुपर्ने बताए । उनले सदनबाट दलित ऐन बनाएर वा प्राधिकरण गठन गरेर मात्रै दलितहरूले अधिकार नपाउने धारणा व्यक्त गरे ।
प्रचण्डले विगतमा आफूसँग भएको शक्ति र प्रभावको स्मरण गर्दै अहिले त्यो ‘शान’ नरहेको स्वीकार गरे । ‘हिजो जनयुद्ध गरेर शान्ति प्रक्रियामा आउँदा संगठन त त्यति ठूलो होइन नि । राप थियो, ताप थियो, वाइसिएल थियो, सेना थियो । क्यान्टेनमेन्ट भए पनि बन्दुक नै थियो । म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर भोट हाल्न जाने त्यो बेलाको प्रचण्ड भनेपछि मान्छेले कस्तो बुझ्दथ्यो भन्नुस् त । अहिले त छैन,’ उनले भने ।
अध्यक्ष दहालले फेरि सेना बनाउनुपर्ने भन्ने आफ्नो आशय नरहेको स्पष्ट पार्दै शान्तिपूर्ण आन्दोलनको आवश्यकतामा जोड दिए । उनले चाडपर्व सकिएलगत्तै सडकलाई नै मुख्य रूपमा प्रयोग गरेर आन्दोलन अघि बढाउने घोषणा गरे । उनको यो आह्वानले दलित समुदायको अधिकारका लागि नयाँ सडक संघर्षको संकेत दिएको छ ।








