काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडेलाई जिल्ला अदालत काठमाडौंले २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । साइबर ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीका अनुसार, शुक्रबार जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
पाँडेलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोप लागेको थियो । उनी बुधबार साइबर ब्युरोमा उपस्थित भएपछि बयान लिइएको थियो । बिहीबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाइएको र शुक्रबार बिहान मुद्दा दायर भएसँगै सुनुवाइका लागि पेसी तोकिएको थियो ।
एक महिलाले पाँडेविरुद्ध आफूलाई जिमेलमार्फत अपशब्द प्रयोग गरी गालीगलौज गरेको भन्दै साउन १२ गते साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा भदौ ५ गते पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।








