समाचार सुन्नुहोस :
काठमाडौँ – चीनको राजधानी बेइजिङमा आगामी सेप्टेम्बर ३ मा आयोजना हुने भिक्ट्री परेडमा नेपालसहित २६ देशका उच्च पदस्थ नेताहरू सहभागी हुने भएका छन्। यो कार्यक्रम राष्ट्रपति सी जिङपिङको निमन्त्रणामा हुने भएको हो।
चिनियाँ सहायक विदेशमन्त्री होङ लेईका अनुसार सो दिन भव्य सैन्य परेडसहित विशेष समारोह आयोजना गरिनेछ। यस अवसरमा जापानी आक्रमणविरुद्ध चीनले गरेको प्रतिरोध र विश्व फासिवादविरोधी युद्धमा प्राप्त विजयको ८० वर्ष पूरा भएको स्मरण गरिनेछ।
परेडमा सहभागी हुने नेतामध्ये रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उन, क्याम्बोडियाका राजा नोरोडोम सिहामोनी, भियतनामका राष्ट्रपति लुयोन कुओङ, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबिआन्तो, मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिम, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि छन्।
त्यस्तै, माल्दिभ्स, मंगोलिया, लाओस, काजाकस्तान, उजबेकिस्तान, ताजिकिस्तान, किर्गिजस्तान, तुर्कमेनिस्तान, बेलारुस, अजरबैजान, आर्मेनिया, इरान, कङ्गो, जिम्बावे, सर्बिया, स्लोभाकिया, क्युबा र म्यानमारका शीर्ष नेताहरू समेत सहभागी हुनेछन्। साथै विभिन्न देशका संसद प्रमुख, उपप्रधानमन्त्री, पूर्व नेताहरू र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूलाई पनि निमन्त्रणा दिइएको छ।








