समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ११ गते काठमाडौं जिल्लाका महाधिवेशन प्रतिनिधिसँग गरेको भेटबारे केही अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक सूचना फैलिएको भन्दै प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ।
सचिवालयले उक्त भेट कुनै प्रशिक्षणमूलक कार्यक्रम नभई सामान्य अनौपचारिक भेटघाट मात्र भएको स्पष्ट पारेको छ। साथै, “एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन” भन्नेजस्ता समाचारहरू पूर्णतया मनगढन्ते र स्वार्थप्रेरित भएको जनाएको छ। भेटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको इतिहास, व्यक्तिगत स्वार्थका कारण आन्दोलनमा भएको क्षति, हाल पार्टीले लिएको नीति, केन्द्रीय कमिटीका निर्णय तथा सरकारका विकास र सुशासन सम्बन्धी कामबारे विचार राखेका थिए।
त्यस क्रममा उनले पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति आफूले सदैव उच्च सम्मान गरेको तर पार्टीमा औपचारिक सदस्यता नलिई मिडिया र नेताहरूसँग भेटेर सक्रिय राजनीतिमा आउने प्रयासले पार्टीको लक्ष्य र एकतालाई कमजोर पार्ने आशंका रहेको बताएका थिए। ओलीले भण्डारीलाई सदस्यता दिए आन्दोलनको गरिमामा असर पर्न सक्ने र नेतृत्व लिने प्रयासले पार्टी एकता भड्काउने निष्कर्षमा पार्टी पुगेको पनि बताएका थिए।
प्रधानमन्त्रीको सचिवालयले यथार्थ नबुझी गलत समाचार सम्प्रेषण नगर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ।








