टोकियो – चीनको बढ्दो सैन्य गतिविधिले क्षेत्रीय तनाव बढाइरहेको समयमा जापानको सबैभन्दा पश्चिमी टापु योनागुनीमा भएको मेयरको चुनाव सैन्य विस्तारको मुद्दामा केन्द्रित रह्यो । आइतबार सम्पन्न निर्वाचनमा, आत्म-रक्षा बल (सेल्फ-डिफेन्स फोर्सेस) को तैनाथी विस्तारको विषयमा सतर्कता अपनाउनुपर्ने धारणा राख्ने पूर्व स्थानीय सभा सदस्यले जित हासिल गरेका छन् ।
६१ वर्षीय स्वतन्त्र उम्मेदवार चुनिओ उइचीले आफ्ना निकटतम प्रतिद्वन्द्वी, बहालवाला मेयर ७२ वर्षीय केनिची इतोकाजु र अर्का पूर्व स्थानीय सभा सदस्य ६७ वर्षीय चियोकी तासातोलाई पराजित गर्दै विजयी भएका हुन् । ताइवानबाट करिब ११० किलोमिटर पूर्वमा अवस्थित योनागुनी टापुमा हालको स्तरभन्दा थप सैन्य विस्तार गर्ने विषयमा उइचीले सचेत रहनुपर्ने बताउँदै आएका छन् ।
उइचीले ५५७ मत प्राप्त गरी विजय हासिल गर्दा, इतोकाजुले ५०६ र तासातोले १३६ मत पाए । चुनावमा ९०.८३ प्रतिशत मतदान भएको थियो । हालैका वर्षहरूमा, जापानले आफ्नो दक्षिण-पश्चिमी मुख्य टापु क्युसु र ताइवानबीचका दुर्गम टापुहरूमा आफ्नो रक्षा क्षमतालाई निरन्तर सुदृढ गर्दै लगेको छ ।
योनागुनी टापुमा सन् २०१६ मा स्थल आत्म-रक्षा बल (GSDF) को शिविर स्थापना गरिएको थियो । त्यसपछि, सन् २०२२ मा वायु आत्म-रक्षा बल (ASDF) को एक स्थायी इकाईले मोबाइल निगरानी राडार सञ्चालन गर्न सुरु गर्यो भने सन् २०२४ मा स्थल आत्म-रक्षा बलको इलेक्ट्रोनिक युद्ध इकाई तैनाथ गरिएको थियो ।
नवनिर्वाचित मेयरको धारणा
चुनाव जितेपछि टापुमा थप सैन्य विस्तारबारे सोधिएको प्रश्नमा उइचीले भने, ‘मलाई लाग्छ कि रक्षा मन्त्रालयले यसबारे सम्पूर्ण जानकारी पारदर्शी बनाउनु महत्त्वपूर्ण छ र अन्तिम निर्णय यहाँका बासिन्दाले गर्नुपर्छ ।’
यद्यपि, उनी योनागुनी विमानस्थललाई आत्म-रक्षा बल र जापानको तटरक्षक बलले प्रयोग गर्न सक्ने गरी तोक्ने विचारमा भने खुला रहने अपेक्षा गरिएको छ । चुनावी अभियानमा पराजित मेयर इतोकाजुले देशको रक्षा क्षमतालाई दक्षिण-पश्चिम टापुहरूमा सार्ने नीतिको पूर्ण समर्थन गरेका थिए भने अर्का उम्मेदवार तासातोले टापुको अर्थतन्त्र आत्म-रक्षा बलमा निर्भर हुनुहुँदैन भन्ने धारणा राखेका थिए ।








