समाचार सुन्नुहोस :
काठमाडौँ – गुगल म्याप्सले शुक्रबार ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ मा नेपालमा स्ट्रिट भ्यू सेवा सुरु गर्ने घोषणा गरेको छ। यो संगै नेपाल पर्यटन क्षेत्रमा नयाँ युग सुरु भएको छ। यस सेवामार्फत अब विश्वभरका मानिसले मोबाइल वा कम्प्युटर प्रयोग गरेर नेपालका सुन्दर दृश्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परा नजिकैबाट अनुभव गर्न सक्नेछन्।
प्रयोगकर्ताले काठमाडौँका ऐतिहासिक गल्ली र व्यस्त बजारमा भर्चुअल रूपमा हिँड्ने, तराईको हरियाली र शान्त भू–दृश्य हेर्ने, र हिमालका मनोरम दृश्यसहित घुमाउरा सडकमा डिजिटल यात्रा गर्ने अवसर पाउनेछन्। स्ट्रिट भ्यूले नेपालको वास्तुकला, प्राचीन दरबार, मन्दिर, पुराना बस्ती र बजार संस्कृतिलाई अझ नजिकबाट देखाउने सुविधा दिनेछ।
गुगलले यो सेवा नेपालमा सुरु भएपछि देशको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई विश्वभर प्रचार गर्ने विश्वास व्यक्त गरेको छ। अब प्रत्यक्ष नेपाल नआउने मानिसले पनि स्क्रिनमार्फत यहाँ हिँडिरहेको अनुभव गर्न सक्नेछन्।








