काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारागारमा न्यूनतम सुविधाबाट समेत वञ्चित गरिएको भन्दै सामाजिक सञ्जालमा भइरहेको टिप्पणीप्रति गृहमन्त्री रमेश लेखकले जवाफ दिएका छन् । उनले देशभरका कारागारको भौतिक अवस्था दयनीय रहेको स्वीकार गर्दै लामिछानेलाई कुनै विशेष सुविधा नदिइएको तर साँघुरो भए पनि एउटा कोठामा एक्लै राखिएको स्पष्ट पारेका छन् ।
बुधबार प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागारको दुरवस्थाबारे कटाक्ष गरे । “देशभर सायदै एक-दुई कैदीबन्दी होलान् जो एउटै कोठामा एक्लै बस्छन्, नत्र १५ जनाको क्षमता भएको ठाउँमा ३५ जना कोचिएर बसेका छन्,” उनले भने, “यस्तो अवस्थामा उहाँ (रवि) लाई सानै भए पनि छुट्टै कोठा उपलब्ध गराइएको छ ।”
गृहमन्त्री लेखकले लामिछानेलाई कारागार प्रशासनले उपलब्ध गराउनुपर्ने कुनै पनि सुविधाबाट वञ्चित नगरिएको दाबी गरे ।
साथै, उनले लामिछानेलाई अन्यत्र कारागारमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढेको समेत खुलासा गरे । “कारागार सार्नका लागि अदालतबाट अनुमति प्राप्त भइसकेको छ र उहाँको निवेदन पनि छ,” गृहमन्त्रीले भने, “सरकारले सुरक्षा लगायतका सबै पक्षको मूल्याङ्कन गरेर यस विषयमा छिट्टै निर्णय लिनेछ । मैले यो विषयलाई गम्भीरतापूर्वक लिएको छु ।”








