समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रमा अहिलेसम्म नेतृत्व परिवर्तन नभएको टिप्पणी गरेका छन्। फेसबुकमा उनले २०४६ सालको राजनीतिक परिवर्तनपछि एमाले र कांग्रेसमा नेतृत्व फेरिएको उदाहरण दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कटाक्ष गरेका हुन्।
पोखरेलका अनुसार २०४६ सालपछि नेकपा (माले) र नेकपा (मार्क्सवादी) एकीकरण भएर एमाले बनेपछि पार्टीको नेतृत्वमा क्रमशः मदन भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली पुगे। उनले मनमोहन अधिकारी कार्यकारी भूमिका नभए पनि पाँचौं र छैठौं महाधिवेशनपछि पार्टी अध्यक्ष बनेको उल्लेख गरेका छन्। मदन भण्डारी २०४६ देखि २०५० सालसम्म महासचिव थिए। उनको निधनपछि माधव नेपाल २०६४ सालसम्म महासचिव रहे भने त्यसपछि झलनाथ खनाल र पछि ओली अध्यक्ष बने।
त्यस्तै, कांग्रेसमा पनि बहुदलीय प्रणालीपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र अहिले शेरबहादुर देउवा सभापति बनेका छन्। तीन जना नेताहरू दिवंगत भइसकेका छन्। तर, प्रचण्ड भने २०४६ सालको परिवर्तन अघि देखिनै माओवादीको नेतृत्वमा यथावत रहेको पोखरेलको टिप्पणी छ।








