टोकियो – जापानको होक्काइदोस्थित ओबिहिरो शहरमा प्रहरीले नियन्त्रणमा लिएपछि अचेत भएकी एक ३० वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीले उक्त घटना अगस्ट २ को बिहान भएको जानकारी दिएको छ ।
होक्काइदो प्रिफेक्चरल प्रहरीका अनुसार, शनिबार बिहान करिब ३:२५ बजे एक स्थानीयले प्रहरीलाई फोन गरी एक महिला बाहिर चिच्याइरहेको जानकारी दिएका थिए । प्रहरीका दुई अधिकारी घटनास्थलमा पुग्दा ती महिला अर्ध-नग्न अवस्थामा सडकमा यताउता गर्दै चिच्याइरहेकी थिइन् । अधिकारीहरूले उनीसँग कुरा गर्ने प्रयास गरे, तर उनले बुझ्न नसकिने गरी प्रतिक्रिया दिइन् ।
महिलाले अनियन्त्रित व्यवहार देखाएपछि र प्रहरीतिरै आउन खोजेपछि, अधिकारीहरूले उनलाई नियन्त्रणमा लिन खोजेका थिए । प्रहरीले उनलाई भुइँमा घोप्टो पारी हात र ढाडमा समातेर नियन्त्रणमा लिएको थियो । त्यसको केही समयपछि नै ती महिला अचेत भइन् । उनलाई तत्काल अस्पताल लगिएकोमा बिहान करिब ९:४० बजे उनको मृत्यु भएको घोषणा गरियो ।
प्रहरीले शव परीक्षणबाट मृत्युको कारण ‘एक्युट कार्डियाक फेलियर’ अर्थात् तीव्र हृदयघात भएको खुलासा गरेको छ । प्रहरीले महिलाको मृत्यु र प्रहरी अधिकारीहरूको कारबाहीबीच कुनै सम्बन्ध नभएको बताएको छ । साथै, महिलाको रगतमा कुनै पनि प्रकारको लागुऔषध वा मदिराको अंश फेला नपरेको प्रहरीले जनाएको छ ।








