समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकाले नयाँ पाइलट भिसा कार्यक्रम ल्याएको छ। यो कार्यक्रम अन्तर्गत अब अमेरिका आउने पर्यटक (B1) र व्यापारिक (B2) भिसाका आवेदकहरूले १५ हजार अमेरिकी डलरसम्मको बन्ड (जमानत) राख्नुपर्नेछ।
यो नियम अगस्ट २० देखि लागू हुने अपेक्षा गरिएको छ र करिब एक वर्षसम्म सञ्चालनमा रहनेछ। अमेरिकी विदेश विभागका अनुसार, यस कार्यक्रमको उद्देश्य भिसा सकिएपछि पनि अमेरिका नछाड्ने विदेशीको संख्या घटाउनु हो। पछिल्ला वर्षहरूमा धेरै विदेशी समयमै नफर्किएको तथ्य सार्वजनिक सूचनामा उल्लेख छ।
भिसा आवेदन मूल्यांकन गर्ने कन्सुलर अधिकारीलाई आवेदकको जोखिम मूल्याङ्कनको आधारमा ५,०००, १०,००० वा १५,००० डलर बन्ड माग्ने छुट दिइनेछ। यदि भिसा अवधि सकिएपछि व्यक्ति आफ्नो देश फर्कन्छन् भने बन्डको रकम फिर्ता गरिनेछ।
तर, यो कार्यक्रम सबै देशका लागि लागू हुन्छ कि केही देशलाई छुट दिइन्छ भन्ने स्पष्ट छैन। रोयटर्सका अनुसार, यो कार्यक्रम परीक्षणको रूपमा सुरु गरिएको हो।








