Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – हालै प्रकाशित एक अध्ययनले जापानी शैलीको परम्परागत भोजन र मानसिक स्वास्थ्यबीच गहिरो सम्बन्ध रहेको देखाएको छ । अध्ययनअनुसार, भात, मिसो सुप र माछाजस्ता खानेकुरा नियमित खाने कामकाजी उमेरका व्यक्तिहरूमा डिप्रेसन (उदासीपना) का लक्षणहरू कम पाइने गरेको छ ।

यो अध्ययनले परम्परागत खानपानको महत्त्वलाई फेरि एकपटक उजागर गरेको छ । जापान इन्स्टिच्युट फर हेल्थ सेक्युरिटीले गरेको यस अध्ययनमा परम्परागत ‘जापानी शैलीको भोजन’ अन्तर्गत सोया उत्पादन, पकाइएका तरकारी, च्याउ, माछा, समुन्द्री लेउ र हरियो चियाजस्ता खानेकुराको फाइदाबारे मूल्यांकन गरिएको थियो ।

यसअघि भूमध्यसागरीय (Mediterranean) आहार (जसमा तरकारी, गेडागुडी, जैतुनको तेल र माछा समावेश हुन्छ) र डिप्रेसनको सम्बन्धबारे अध्ययनहरू भए पनि जापानी भोजनको मानसिक स्वास्थ्यमा प्रभावबारे कमै अनुसन्धान भएको संस्थानले जनाएको छ ।

संस्थानले एक प्रेस विज्ञप्तिमा भनेको छ, ‘यस विषयमा थप अनुसन्धान आवश्यक छ, तर जापानी नागरिकहरूमा देखिएको यो प्रमाणले कार्यस्थल र अन्य क्षेत्रहरूमा डिप्रेसन रोकथामका लागि जनस्वास्थ्यका उपायहरू बनाउन उपयोगी हुने आशा गरेका छौं ।’

यो स्व-रिपोर्टिङमा आधारित अध्ययन पाँच विभिन्न कम्पनीका १२,४९९ कर्मचारीमाझ गरिएको थियो, जसमा ८८ प्रतिशत पुरुष थिए र उनीहरूको औसत उमेर ४२.५ वर्ष थियो । अध्ययनमा सहभागीमध्ये कुल ३०.९ प्रतिशतमा डिप्रेसनका लक्षणहरू देखिए पनि परम्परागत जापानी भोजन गर्नेहरूमा यो दर उल्लेख्य रूपमा कम पाइएको थियो । अध्ययनकर्ताहरूले परिणामलाई असर गर्न सक्ने अन्य सम्भावित कारकहरूलाई समेत अलग्याएर विश्लेषण गरेका थिए ।

किन फाइदाजनक छ जापानी भोजन ?
संस्थानका अनुसार, भोजनमा पाइने केही विशेष तत्वले मानसिक स्वास्थ्य सुधार्न मद्दत गर्छन् । समुन्द्री लेउ, सोया उत्पादन र तरकारीमा पाइने फोलिक एसिडले सेरोटोनिन र डोपामाइनजस्ता महत्त्वपूर्ण स्नायु-सञ्चारक (न्युरोट्रान्समिटर) हरू उत्पादन गर्न सघाउँछन्, जसले मनलाई खुसी र स्थिर राख्न मद्दत गर्दछ ।

त्यसैगरी, ओमेगा-३ फ्याटी एसिडयुक्त तेलिलो माछामा पाइने तत्वले शरीरमा सुन्निने प्रक्रियालाई कम गर्ने (एन्टी-इन्फ्लेमेटरी) काम गर्छ, जसको सकारात्मक असर मानसिक स्वास्थ्यमा पनि देखिन्छ ।

तपाईको प्रतिक्रिया