टोकियो – जापानमा मदिरापानको कुरा गर्दा प्रायः कार्यालयका कर्मचारीहरू एकसाथ बसेर रमाइलो गरेको र सबै संकोच त्यागेको तस्बिर आँखामा आउँछ । कतिपय कम्पनीहरुले त मदिराको ह्यांगओभर हटाएर टाउको हलुका पार्ने बिदाको सुविधा प्रदान गरेका हुन्छन् ।
तर यसको एउटा अँध्यारो र लुकेको पाटो पनि छ, जापानमा धेरैभन्दा धेरै महिलाहरू अत्यधिक मदिरापान गरिरहेका छन्, कतिपय त खतरनाक स्तरमा । अन्ततः दुर्व्यसनको सिकार बनिरहेका छन् । पश्चिमी जापानको एक अस्पतालमा मदिरापान मुक्ति सम्बन्धी समूह चलाउने औषधि विशेषज्ञ शिनो उसुईले देशमा महिला मदिरा सेवनकर्ताको अनुपात डरलाग्दो रूपमा बढिरहेको तथ्यलाई पुष्टि गर्नुहुन्छ । कुनै समय आफैँ दैनिक रक्सीमा डुब्ने उहाँलाई थाहा छ, पुरुषहरूलाई मात्रै अत्यधिक मदिरा सेवनकर्ताको रूपमा हेरिने समाजमा एक महिला भएर यो लतसँग लड्नु कति संवेदनशील र लज्जास्पद विषय हो ।
स्वास्थ्य विज्ञहरूका अनुसार, हर्मोनको प्रभावले महिलाहरू छोटो समयमै मदिराको लतमा फस्ने जोखिम बढी हुन्छ । जापानमा मदिरापानलाई ‘पुरुषहरूको रोग’को रूपमा सामाजिक कलंक लगाइन्छ, जसकारण महिलाहरूको चिन्ता र अनुभवलाई सम्बोधन गर्न डिजाइन गरिएका उपचार कार्यक्रमहरू अत्यन्तै कम छन् । स्वास्थ्य मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०२१ मा मदिराको लतमा परेका बिरामीहरूको संख्या लगभग १ लाख ८ हजार थियो । २०२३ को तथ्याङ्कले जीवनशैली-सम्बन्धित रोगहरूको जोखिम बढाउने मात्रामा मदिरा पिउनेहरूको प्रतिशत पुरुषमा १४.१ प्रतिशत र महिलामा ९.५ प्रतिशत थियो । तर पछिल्लो एक दशकमा महिलाहरूको यो अनुपात निरन्तर बढेको छ ।
हालै शिकोकु टापुको ताकामात्सु सहरमा रहेको दुर्व्यसन उपचार केन्द्र, साङ्को अस्पतालमा आयोजित एक कार्यक्रममा महिलाहरूको समूहले हरियो चिया भरिएका कागजका कपहरू उठाएर ‘टोस्ट’ गरे । ‘अल निप्पोन एब्स्टिनेन्स एसोसिएसन’ को एक शाखामा आबद्ध यी महिलाहरू आफूलाई ‘एमिथिस्ट’ भन्छन् । पश्चिमी संस्कृतिमा, यो रत्नलाई नशाबाट बचाउने पत्थर मानिन्छ ।
गत अक्टोबरदेखि हरेक हप्ता साङ्को अस्पतालमा सञ्चालन हुँदै आएको ‘एमेटक !’ नामक यो कार्यक्रम एक लोकप्रिय जापानी कमेडी शोबाट प्रेरित छ । ४८ वर्षीया उसुई भन्छिन्, ‘हामीलाई यस्तो ठाउँ चाहिन्छ जहाँ महिलाहरूले आफ्ना अद्वितीय समस्याहरूबारे खुलेर कुरा गर्न र एकअर्कासँग हाँस्न सकून् ।’
लत छोड्ने संघर्षमा रहेका यी महिलाहरू आफ्ना अनुभवहरू बाँड्छन्, जसमा परिवार र साथीभाइबाट आफ्नो समस्या लुकाउन गरेका प्रयासहरू पनि सामेल हुन्छन् । एक सहभागीले बताइन्, ‘श्रीमानले ‘चुहाई’ (एक प्रकारको जापानी रक्सी) को क्यान खोलेको आवाज सुन्छन् की भन्ने डरले उनी घरबाहिर रेल गुड्ने बेला पारेर क्यान खोल्थिन् ।
अरू महिलाहरू महिला भएकै कारण मदिरा सेवनकर्ता हुँदा भोग्नुपरेको अपमानका कथाहरू सुनाउँछन्, वा कसरी उनीहरू पुरुषहरूको बाहुल्यता भएका अन्य समूहहरूमा जानबाट जोगिन्छन् भन्ने बताउँछन्। एक महिलाले भनिन्, ‘त्यस्ता समूहमा म यति धेरै पिउँछु कि कहिलेकाहीँ पिसाब नै चुहिन्छ भनेर भन्न सक्दिनँ ।’
व्यक्तिगत कथाहरू र समाधानको बाटो
उसुई आफैँ ३१ वर्षको उमेरमा काम, घरधन्दा, बालबालिकाको हेरचाह र बुबाको मृत्युको तनावका कारण अत्यधिक मदिरा सेवन गर्न थालेको बताउँछिन् । उनी दिनमा लगभग चार पिन्ट रक्सी पिउँथिन्, जुन ७२० मिलिलिटरको एउटा साके (जापानी रक्सी) को बोतल बराबर हो ।
यो समूहमा सामेल भएपछि उनी विगत चार वर्षदेखि पूर्ण रूपमा मदिराबाट मुक्त छिन् । ‘एक्लै लतलाई जित्न सकिँदैन । यो कार्यक्रम ती महिलाहरूका लागि हो, जोसँग रक्सीको सहारा लिनुबाहेक अरू विकल्प थिएन, ताकि उनीहरूले लाज नमानी आफ्ना अनुभवहरू खुलेर बाँड्न सकून् र फेरि उत्कृष्ट जीवन जिउन सकून्,’ उसुई भन्छिन् ।
साङ्को अस्पतालका निर्देशक शुन उमिनोका अनुसार, सन् २००० को दशकको सुरुदेखि नै महिला मदिरा सेवनकर्ताको संख्या बढिरहेको छ । यसको मुख्य कारकको रुपमा ‘महिलाहरूलाई लक्षित गरी बनाइएका रक्सीका विज्ञापनहरू, साथै काम र बच्चा हुर्काउने दोहोरो जिम्मेवारीले सिर्जना गरेको तनावलाई’ मानिएको छ ।
मदिरापानको समस्या भएका महिलाहरू प्रायः खानपानसम्बन्धी विकार, डिप्रेसन र यौन दुर्व्यवहार जस्ता दर्दनाक अनुभवहरूसँग पनि संघर्ष गरिरहेका हुन्छन् । उमिनो भन्छन्, ‘पूर्ण रूपमा निको हुनका लागि लैङ्गिक भिन्नतालाई ध्यानमा राखेर प्रत्येक बिरामीलाई व्यक्तिगत रूपमा सम्बोधन गर्नु आवश्यक छ । हामीले दुर्व्यसनप्रतिको पूर्वाग्रह हटाउन जनचेतना पनि जगाउनुपर्छ ।’








