नागोया – नागोया सेन्ट्रल अस्पतालको आयोजनामा जापानमा कार्यरत वरिष्ठ नेपाली न्युरोसर्जन डा. लुशुन चालिसेले मस्तिष्क रोगसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने भएका छन् । कार्यक्रम आगामी अप्रिल २३ तारिख, नागोया स्टेशन नजिकै रहेको नागोया सेन्ट्रल अस्पतालको सभा हलमा आयोजना गरिने भएको हो ।
डा. चालिसेका अनुसार कार्यक्रममा मस्तिष्कसँग सम्बन्धित विभिन्न समस्या जस्तै- स्ट्रोक, पक्षघात, स्मरणशक्ति कमजोर हुने समस्या, टाउको दुख्ने र झमझमाउने समस्या तथा जटिल न्युरो सर्जरीका आधुनिक प्रविधिबारे जानकारी दिइनेछ । जापानभरि नै अत्याधुनिक प्रविधि र दक्षता प्रयोग गरी गरिने न्युरो सर्जिकल उपचारबारे उनले विस्तृत जानकारी प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा जापानी वरिष्ठ नागरिकहरूको सहभागिता अपेक्षित भएकाले अन्तरक्रिया जापानी भाषामा सञ्चालन गरिनेछ। सो अवसरमा प्रमुख डा. यामाओका समेत डा. चालिसेसँग सहकार्यमा रहने जनाइएको छ । कार्यक्रम नेपाली चिकित्सकद्वारा जापानमै आयोजित सम्भवतः पहिलो प्रत्यक्ष जनस्वास्थ्य अन्तरक्रिया कार्यक्रम हो ।
यसको प्रचारप्रसारका लागि नागोया ट्रेन स्टेशनजस्ता अत्यधिक भीडभाड हुने स्थानहरूमा डा. चालिसे र जापानी डाक्टरहरूको तस्बिरसहितको सूचनापाटी राखिएको छ, जसले लाखौं यात्रुहरूलाई जानकारी दिने अपेक्षा गरिएको छ । कार्यक्रममा अनलाइन मार्फत सहभागी दर्ता खुलाइएको छ, र हालसम्म उल्लेख्य सङ्ख्यामा सहभागिताको लागि नाम दर्ता भइसकेको अस्पताल स्रोतले जनाएको छ ।
डा. लुशुन चालिसेले २००९ मा ओसाका विश्वविद्यालय, मेडिकल फ्याकल्टीबाट ‘डाक्टर अफ मेडिसिन’ उपाधि हासिल गरेका थिए । उनले २०१५ मा जापान न्युरोसर्जिकल सोसाइटीबाट बोर्ड सर्टिफाइड स्पेसलिस्ट इन न्युरोसर्जरी प्राप्त गरेपछि, २०१८ मा नागोया विश्वविद्यालयबाट न्युरो-अन्कोलोजीमा विद्यावारिधि (पीएचडी) पुरा गरेका थिए ।
यसपछि उनले टोक्यो विश्वविद्यालय अन्तर्गतको एडभान्स्ड क्लिनिकल रिसर्च सेन्टर, इनोभेटिभ क्यान्सर थेरापी डिभिजनमा उप-प्राध्यापकको रूपमा कार्य गर्दै IMSUT अस्पतालमा न्युरोसर्जनको भूमिका निर्वाह गरेका थिए। हाल उनी सन् २०२० देखि नागोया सेन्ट्रल अस्पतालमा कन्सल्टेन्ट न्युरोसर्जनका रूपमा कार्यरत छन् । साथै, उनी नेपाली मेडिकल एशोसिएसन, जापानका संयोजक पनि हुन् ।








