काठमाडाैं – काठमाडौंबाट पोखरा आएको यति एयरको एएचयू-६८१ नम्बरको जहाज हाइड्रोलिक फेल भएपछि अाज पोखरा विमानस्थलको रनवेभन्दा बाहिर गएको छ । दिउँसो २ : ४५ बजे अवतरणपछि पार्किङमा ल्याउने क्रममा जहाज रनवेभन्दा बाहिर गएपनि यात्रु र चालक दलका सबै सकुशल छन्।
विमानमा ३० यात्रु र चालक दलका तीनजना थिए। ‘पार्किङमा ल्याउँदै गर्दा हाइड्रोलिक फेल भएछ,’ पोखरा विमानस्थलका प्रवक्ता काशीनाथ पौडेलले भन्नुभयाे, ‘कुनै क्षति वा दुर्घटना भएको होइन । जहाजले एयरपोर्टमा अरु कसैलाई बाधा पनि पारेको छैन ।’
अवतरणका क्रममा हाइड्रोलिकले काम नगरेपछि रनवे बाहिर पुगेर रोकिएको जहाजबाट यात्रु र चालक दलका सबै सदस्य बाहिर निस्किसकेको उहाँले बताउनुभयाे । यति एयरले प्राविधिक टोली बोलाएकाले त्यसकै प्रतीक्षामा रहेको विमानस्थलले जनाएको छ ।








