काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले पेट्रोलियमको मूल्यवृद्धिको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । अध्यक्ष नैनसिंह महरले आज विज्ञप्ती जारी गरेर मूलयवृद्धि र कालोबजारीको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गर्नुभएको हो ।
ने क पा नेतृत्वको सरकार गठन भएको एक सय दिनभित्रै पाँच पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि नेविसंघ आन्दोलनमा उत्रनु परेको अध्यक्ष महरको भनाइ छ । दोस्रो चरणको आन्दोलन अन्तर्गत नेविसंघले असार ४ गते मंगलबार बिहान ९ बजे देशैभरीका शिक्षण संस्था अगाडि एक घण्टा चक्काजाम गर्ने भएको छ । असार ५ गते ७७ वटै जिल्ला सदरमुकाममा सरोकारवाला पक्षसँग सडक बहस र असार ८ गते नेपाल आयल निगमका कार्यालयहरु घेराउ गरिने विज्ञप्तीमा उल्लेख छ ।
नेविसंघले मूल्यवृद्धिको निर्णय फिर्ता लिन माग गर्दै असार १० गते प्रदेश मुकामहरुमा विरोध सभा र मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने जनाएको छ । मूल्यवृद्धिको विरोधमा घोषणा गरिएको दोस्रो चरणको आन्दोलनअन्तर्गत नेविसंघले असार १२ गते मध्यान्ह १२ बजे ५ मिनेट देशैभरी आ–आफ्ना सवारी साधनहरुको हर्न बजाई सरकारको चेत खुलाउने पनि जनाएको छ ।








