काठमाडाैं – सुन तस्करी मुद्दाका फरार आरोपी छिरिङ वाङ्गेल घलेले जिल्ला अदालत मोरङसमक्ष अाज आत्मसमर्पण गरेका छन् । कार्यालय समयमा अदालतको सम्पर्कमा पुगेलगत्तै उनको बयान लिन सुरु गरिएको छ ।
मोरङका प्रहरी उपरीक्षक मनोज केसीका अनुसार करिब साढे १० बजे उनले अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । प्रहरीले फरारको सूचीमा रहेका उनको खोजी गरिरहेको थियो । सुन तस्करीमा मुख्य भूमिका निर्वाह गर्नेमा घलेको नाम पनि अगाडि छ । सुन तस्करी र सनम शाक्य प्रकरणका मुख्य आरोपी भनिएका चूडामणि उप्रेती गोरेले बयानमा आफू सघाउने मात्र भएको भन्दै वाङगेललगायतको समूहको संलग्नतामा तस्करी हुने गरेको बताएका थिए ।
घलेले सुन तस्करीको धन्धा चलाउने गरेको र आफू उनकै लाइनमा बसेर काम गर्ने गरेको गोरेले बयानमा बताएका थिए । यसअघि फरारमध्येका एसएसपी श्याम खत्रीले पनि अदालतसमक्ष आत्मसमर्पण गरिसकेका छन् । गत बिहीबार आत्मसमर्पण गरेका उनको त्यसै दिन बयान सकेर न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले थुनामा राख्ने आदेश दिएको थियो । पूर्व डिआइजी गोविन्दप्रसाद निरौलासहित यो मुद्दाका २८ प्रतिवादीलाई यसअघि नै अदालतले थुनामा राखी पुर्पक्ष गर्न आदेश दिइसकेको छ । त्यसपछि एसएसपी खत्रीलाई थुनामा पठाइएको थियो ।








