काठमाडौं – केही लाख मात्र जनसंख्या भएको मुलुकले यति ठूलो खेल समारोहको आयोजना गर्ने अवसर कसरी पायो ? त्यति धेरै गर्मी हुने देशमा फुटबल प्रतियोगिता हेर्न को जान्छ ?
आयोजना गर्ने जिम्मेवारी पाएदेखि कतारले सन् २०२२ मा हुने विश्वकप फुटबललाई लिएर यी र यस्ता प्रश्नहरुको सामना गर्दै आएको छ । कम समय बाँकी रहेकोले विश्वकप आयोजना गर्ने जिम्मेवारी कतारबाट अब खोसिनेछैन भनेर यस वर्षको प्रारम्भतिर ठान्ने गरिन्थ्यो तर कतारसामु अनेकौं चुनौतीहरु आइरहेका छन् ।
के कतारमा विश्वकप हुने सम्भावना टर्दैछ ?
सम्बन्ध विच्छेद
चार महिनाअघि साउदी अरेबिया, बहराइन, संयुक्त अरब एमिरेट्स र इजिप्टले कतारसँग सम्बन्ध विच्छेद गरेको घोषणा गरे । कतार स्थलमार्गले साउदी अरेबियासँग मात्रै जोडिएको देश हो ।
विश्वकपका लागि निर्माणाधीन आठमध्ये सातवटा रंगशालाहरुका निम्ति कतारले त्यही बाटोबाट निर्माण सामाग्री ल्याउने गरेको थियो । कूटनीतिक संकट शुरु हुने बेला निर्माणमा संलग्न अधिकांश कम्पनीहरुसँग मौज्दातमा करिब दुई महिनासम्म पुग्ने निर्माण सामाग्री थियो ।
र, त्यसको चार महिना बितिसक्दा पनि खाडी संकट तत्काल अन्त्य हुने संकेत देखिएको छैन । निर्माण सामाग्रीको अभाव भएको कारण देखाउँदै कतारमाथि प्रतिबन्ध लगाउने देशप्रति वफादार कम्पनीहरुले काम छाड्न सक्ने भन्ने चिन्ता पनि व्यक्त गरिएका थिए ।
प्रभावकारी
यस्तो अवस्थामा के सन् २०२२ को विश्वकप फुटबल कतारमा हुनसक्ला ? विश्वकप आयोजनासम्बन्धी सर्वोच्च निकाय ‘सुप्रिम कमिटी फर डेलिभरी एण्ड लेगेसी’का प्रमुख हसन अल थवाडीले तत्कालै प्रभावकारी कदम चालिएको बताएका छन् ।
हालै बीबीसीसँगको एउटा अन्तर्वार्तामा उनले निर्माण सामाग्री आयातका लागि वैकल्पिक मार्गको खोजी गरिसकिएको बताएका थिए । उनले भने, “हामीले चीन, मलेसिया, टर्की र ओमानबाट निर्माण सामाग्री मगाउन थालिसकेका छौँ । यसअघि सजावटका सामानहरु संयुक्त अरब एमिरेट्सबाट मगाउने गरिएकोमा अब ओमानबाट मगाउन थालिएको छ ।”
कतारको हम्दनामी बन्दरगाह र पाकिस्तानको कराचीस्थित एउटा बन्दरगाहबीचको मार्ग खुल्ला गरिएको छ ताकि आवश्यक निर्माण सामाग्री ल्याउन सकियोस् । हसन भन्छन्, “यी कदमहरुले संकेत गर्छन् कि विश्वकप आयोजनालाई लिएर कतार कति गम्भीर छ र प्रतियोगिताको आयोजना गर्ने तयारीमा खाडी संकटको कुनै असर परेको छैन ।”
आठमध्ये निर्माण सम्पन्न भएको दोहास्थित पहिलो रंगशाला ‘खलीफा स्टेडियम’ हालै खुल्ला गरिएको थियो । बाँकी दुईवटा रंगशाला आगामी महिनासम्ममा खुल्ला गरिने हसनले बताए ।
अभाव
सन् २०२० सम्ममा सबै रंगशालाहरुको निर्माण कार्य सम्पन्न गर्ने कतारको लक्ष्य छ । अल खोर क्षेत्रमा निर्माणाधीन एउटा रंगशालामा बीबीसीको टोलीलाई सीमित पहुँच दिइएको थियो ।
४० हजार दर्शक अट्ने उक्त रंगशालामा विश्वकपका सेमिफाइनल खेलहरु हुनेछन् । निर्माण सम्पन्न हुने चरणमा रहेको उक्त रंगशालामा काम भइरहेको थियो र कामदारहरु भारी उपकरणको सहयोगले काम गरिरहेको देखिन्थे ।
हसनका अनुसार न कुनै कम्पनीले काम छाड्ने संकेत दिएका छन् न त निर्माण सामाग्रीको अभाव नै झेल्नुपरेको छ । विश्वकपका लागि रंगशाला निर्माण र तिनीहरुसँग सम्बन्धित सुविधासहित अन्य परियोजनाका लाग कतारलाई हरेक वर्ष ३० हजार कामदारको आवश्यकता छ र त्यो आवश्यकता मुख्यतः दक्षिण एसियाली कामदारले पूरा गरिरहेका छन् । कतारमा हाल लाखौंको संख्यामा आप्रवासी कामदार छन् ।
वस्तुस्थिति
कामदारहरुको आधारभूत अधिकारको उल्लंघन गर्नुका साथै कतिपय सुविधा नदिएको भन्दै कतारको आलोचना हुँदै आएको छ । तर हसनको दाबी छ- पछिल्ला वर्षहरुमा कतारका कानून र वस्तुस्थितिमा निकै परिवर्तन आइसकेको छ । उनका अनुसार कडाईका साथ नियमहरुको पालना गराउन आवश्यक कर्मचारी खटाउने गरिएको छ भने ब्यांकमार्फत कामदारहरुको तलब भुक्तानी गराउन थालिएको छ ।
प्रतिबन्धित क्षेत्रहरुमा सञ्चारमाध्यम वा विदेशी पर्यवेक्षकहरुलाई श्रमिकहरुको शिविरमा जान दिने अनुमति छैन। तर हसन भन्छन्, एम्नेष्टी इन्टरन्याशनलसहितका अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरु कतार आउन पाएका छन् र यहाँको वस्तुस्थितिबारे बुझेर उनीहरुले कतार सरकारको आलोचना पनि गर्न पाएका छन् ।
कतारमा अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरुले प्रवेश नपाउने कुरा गलत भएको भन्दै हसनले पारदर्शिताबारे कतारप्रति औंला तेर्स्याउने ठाउँ नरहेको बताए । -बीबीसी








